Dhulikhel Eco Banner new

नेपाल रिपब्लिक मिडियाको ५४ लाखभन्दा बढी सेयरको लक–इन अवधि सकिँदै

2.81K
shares

नेपाल रिपब्लिक मिडिया लिमिटेडको संस्थापक तथा कर्मचारी समूहले धारण गरेको सेयरको लक–इन अवधि आगामी असारमा समाप्त हुने भएको छ। कम्पनीले नियामकीय व्यवस्थाअनुसार निश्चित अवधिसम्म रोक्का राखिएको सेयर अब खुला कारोबारका लागि योग्य हुन लागेको जानकारी गराएको हो।

कम्पनीका अनुसार सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन तथा बाँडफाँट गरिएको मिति २०८० असार ११ गतेदेखि लागू हुने गरी संस्थापक र कर्मचारी समूहको सेयर तीन वर्षसम्म लक–इनमा राखिएको थियो। सोही समयावधि पूरा भएसँगै आगामी २०८३ असार १० गतेपछि ती सेयर कारोबारका लागि खुला हुनेछन्।

लक–इन अवधि समाप्त हुने सेयरमध्ये संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता रहेको छ। त्यस्तै कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयर पनि सोही अवधिपछि कारोबारयोग्य बन्नेछ। यससँगै कम्पनीको कुल ५४ लाखभन्दा बढी कित्ता सेयर दोस्रो बजारमा प्रवेश गर्ने अवस्था बनेको छ।

सूचीकृत कम्पनीहरूले आईपीओ जारी गरेपछि संस्थापक र कर्मचारी समूहको सेयर निश्चित समयसम्म बिक्री गर्न नपाउने व्यवस्था रहँदै आएको छ। बजारमा एकैपटक ठूलो परिमाणमा सेयर बिक्री भएर मूल्यमा अस्वाभाविक दबाब नपरोस् भन्ने उद्देश्यले यस्तो प्रावधान राखिएको मानिन्छ।

विश्लेषकहरूका अनुसार ठूलो परिमाणमा सेयर लक–इनमुक्त हुँदा बजारमा आपूर्ति बढ्न सक्छ। यद्यपि वास्तविक प्रभाव भने सम्बन्धित समूहले बिक्री गर्ने मनस्थिती, बजारको माग र कम्पनीको वित्तीय अवस्थाले निर्धारण गर्ने उनीहरूको भनाइ छ। पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताको मनोबल कमजोर भइरहेका बेला थप आपूर्ति आउनुले कम्पनीको सेयर कारोबारमा केही समय दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।