Dhulikhel Eco Banner new

मापदण्डविपरीत हेडलाइट र हर्न प्रयोग गर्ने सवारीलाई कडा कारबाही गरिने

1.14K
shares

काठमाडौं, २६ जेठ । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको मापदण्डभन्दा फरक हेडलाइट तथा हर्न जडान गर्ने सवारीधनी र चालकलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनमा कुनै पनि प्रकारको प्राविधिक हेरफेर नगर्न आग्रह गरेको हो। विभागका अनुसार पछिल्लो समय सवारी साधनमा अत्यधिक चम्किला तथा उच्च क्षमताका लाइटहरू जडान गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ, जसले सडकमा यात्रा गर्ने अन्य चालक तथा पैदलयात्रीको दृष्टिमा असर पुर्‍याई दुर्घटनाको जोखिम बढाउने गरेको छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ अनुसार सम्बन्धित कार्यालयको अनुमति बिना सवारी साधनमा कुनै पनि प्रकारको परिवर्तन गर्न नपाइने स्पष्ट गरेको छ। साथै, ‘सवारी निरीक्षण तथा परीक्षण मापदण्ड, २०७४’ ले हेडलाइटको तीव्रता र हर्नको ध्वनिसम्बन्धी निश्चित सीमा निर्धारण गरेको जनाएको छ।

मापदण्डअनुसार डिप (लो बिम) हेडल्याम्पको प्रकाश तीव्रता १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म हुनुपर्नेछ। हाई बिम हेडल्याम्पको हकमा प्रत्येक ल्याम्पको तीव्रता एक लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने तथा चारवटै हेडल्याम्पको कुल तीव्रता दुई लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी, सवारी साधनमा प्रयोग हुने हर्नको ध्वनि न्यूनतम ९० डेसिबल र अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्नेछ। प्रेसर हर्न तथा अत्यधिक चर्को आवाज निकाल्ने अन्य हर्नहरू जडान गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

विभागले मापदण्डविपरीत बत्ती तथा हर्न जडान गरी सवारी साधन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। सडक सुरक्षालाई थप प्रभावकारी बनाउने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कदम चालिएको विभागको भनाइ छ।