GBIME

‘पम्चर टालेर’ मिलेको सुख (भिडियो)

3.35K
shares

सुर्खेत, १३ पुस । बिहान सबेरै उठ्यो । पसलमा पुग्यो । अनि साइकल, अटो रिक्सा, मोटरसाइकलको पम्चर टाल्यो । सुर्खेत वीरेन्द्रनगरस्थित राजमार्गमै रहेको पसलमा पुगेपछि सुरु हुन्छ, अब्दुल गफारको दैनिकी । पसलमा पुग्दा नपुग्दै साइकल, मोटरसाइकल र अटोवालाका लाइन लाग्छन् । पसलमा आउने मध्येका धेरै हावा भर्न वा पम्चर टाल्न आउँछन् ।

त्यसबाहेक अन्य समस्याहरू लिएर आउने चालकको संख्या पनि राम्रै छ । दिन ढल्कँदै गर्दा झन् धेरै भिडभाड सुरु हुन्छ । दिनभर पम्चर टालेर कमाएको पैसा बोकेर साँझ फर्कन्छन् उनी । कहिले राम्रै कमाइ हुन्छ । कहिले थोरैमा चित्त बुझाउनु पर्छ । उनको एक दशक अघिदेखि यसरी नै सुखसँग जिन्दगी बिताइरहेका छन् । ‘दैनिक २५ सयदेखि ३ हजार रुपैयाँसम्म पनि कमाइन्छ’ उनी भन्छन्, ‘जे होस छोरी पढाउन र परिवार चलाउन राम्रै पुगेको छ ।’

आज भन्दा १३ वर्ष अघिको कुरा हो । सन् २००८ मा सपनाको भारी बोकेर उनी कतार हानिए । सात समुन्द्र पारी पुगेर परिवारको पैसा अभावको समस्या समाधान गर्ने उनको धोको थियो । ४० महिना उनले कतारको मरुभूमिका बिताए । काम राम्रै थियो । कमाइ पनि राम्रै । ‘तर त्यति बेला त सटही रेट पनि थिएन, नत्र त राम्रै कमाइ हुन्थ्यो’ उनी सम्झन्छन्, ‘४० महिना पछि म स्वदेश फर्किए ।’ ४० महिनामा कमाएको रकमले जीवन पुरै धान्न सक्ने अवस्था थिएन । कतारबाट कमाएर ल्याएको थोरबहुत रकम कतै लगानी गर्नुपर्छ भन्ने सोच उनमा आयो । लगानी त गर्ने, तर कहाँ ? उनले सोचे । सुर्खेतमा साइकल बनाउने पसल राम्रै चल्छ भन्ने उनको दिमागमा आयो । त्यति बेला ५० देखि ६० हजार रुपैयाँसम्म लगानी गरेर साइकल पसल खोलेको उनी बत्ताउँछन् ।

लगभग ६० हजार लगानीको सानो साइकल पसल खोलेपछि भने उनले पछाडि फर्केर हेर्नु परेको छैन । भएको व्यापार व्यवसायबाट सधैँ थोरबहुत लाभ लिए । कहिलेकाहीँ कम व्यापार भए पनि उनी आत्तिएनन् । जे छ, त्यसमै सन्तुष्ट हुन सके धेरै तनाव नै हुँदैन । उनको जीवनमा यहीँ भयो । व्यापार व्यवसाय गर्दै जाँदा उनलाई वित्तीय सहयोग आवश्यकता पर्‍यो । पसलमा ऋण थपेर व्यवसाय विस्तार गर्ने उनले योजना बनाए । कतिपयले गाउँघरमा महँगो ब्याजमा ऋण लिन्थे । महँगो ब्याजको ऋण तिर्न गाह्रो थियो । २०७४ सालमा सुर्खेतमा विजय लघुवित्तले शाखा खोलेपछि उनको वित्तीय आवश्यकता पूर्ति गर्‍यो ।

व्यवसायमै सक्रिय रहेका बेला विजय लघुवित्तका कर्मचारी उनको पसलसम्म पुगे । लघुवित्तले दिने सेवाबारे जानकारी पाएपछि उनी सदस्य बन्न राजी भए । उनी सहित ५ जनाको समूह तयार भयो । सदस्य बनेको एक महिना पछि उनले ३ लाख रुपैयाँ बिना धितो ऋण लिए ।

ऋण लिएको रकम उनले अनावश्यक खर्च गरेनन् । व्यवसाय वृद्धिमा उनले ऋण लिएको रकम खर्च गरे । व्यवसाय फस्टाउँदै गयो । अहिले मासिक १३ हजार रुपैयाँ उनले संस्थालाई किस्ता र ब्याज बापत बुझाउनु पर्छ । ‘कमाइ ठिकै छ, ऋण तिर्न समस्या केही छैन’ उनी भन्छन् । अब उनलाई साइकल पसल मात्रै होइन, केही नयाँ गर्न मन छ । तर पछिल्लो समय बढेको ब्याजदरका कारण भने उनी त्रसित छन् । ‘निर्ब्याजी ऋण कतै पाइँदैन सर ?’ चियाको चुस्कीसँगै उनलेसोधे । ब्याज अनुदानमा ऋण पाए टर्की फार्म चलाउने उनको चाहाना छ । भनेजस्तो कहाँ हुन्छ । उनी भन्छन्, ‘अहिले पनि खुसी नै छु, तर केही नयाँ गर्न पाए झन् खुसी हुने थिएँ ।’

उनी जस्ता ग्राहक पाएकोमा विजय लघुवित्त वित्तीय संस्था पनि खुसी छ । लघुवित्तको चाहाना भनेको नै ऋण लिउन्, उद्यमी बनुन् भन्ने हो । ऋणको सदुपयोग गर्‍यो भने साँवा र ब्याज चुक्ता गर्न पनि समस्या हुँदैन । ‘उहाँले ऋणको सदुपयोग गर्नु भएको छ, हामी खुसी छौँ’ विजय लघुवित्तको सुर्खेत शाखा प्रमुख कृष्ण खत्री भन्छन्, ‘ऋण सही ठाउँमा लगाएको अवस्थामा त सहज हुन्छ, हामी उहाँको व्यावसायिक सफलताको कामना गर्दछौँ ।’