अर्थविद् अधिकारीले भने– अर्थतन्त्र दुर्घटनाको खतरामा छ
वि.सं.२०७९ वैशाख २४ शनिवार १९:५७
shares
काठमाडौं, २४ वैशाख । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र दुर्घटनाको खतरामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै अर्थविद अधिकारीले यस्तो बताएका हुन् ।
नेपालको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए ।
डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ ।
अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउनका लागि सरकारले कृषि उत्पादनमा जोड दिनु पर्ने उनको भनाइ छ । उनले भने, ‘यदि कृषिको देशको कुल गार्हस्थ्य उत्पादमा योगदान घटेर १५ प्रतिशतमा आयो भनि मुलुकमा आर्थिक रुपमा ठूलो दुर्घटना हुन सक्छ ।’
सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए ।
‘प्रतिस्थापन विद्येकमा पनि समस्या आएको हो, यसमा कसरी कार्यान्वय गर्ने मानै समस्या आएको हो’ उनले भने, ‘बजेट आयो तर कसरी कार्यान्वय गर्ने भनेर सहि बाटो समाउन नसक्दा त्यो प्रतिस्थापन विद्येकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन ।’