चुनावको दिनमा पनि पर्यटकलाई खुला

वि.सं.२०७९ वैशाख २९ बिहीवार १०:३५
shares

काठमाडौं, २९ वैशाख । स्थानीय तहको चुनाव हुने दिन वैशाख ३० गतेका दिन मनाङमा बाह्य पर्यटकलाई प्रवेश दिइने भएको छ । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका पर्यटकलाई सहज बनाउने उद्देश्यले चुनावको दिन पनि उनीहरुलाई प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको हो ।
पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताएका छन् । यो समय पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ उनले बताए । निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । तर पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउने प्रजिअ आचार्यले बताए ।
पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न मनाङ आउने गरेका छन् । विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन् । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय चलायमा बन्दै गएको बताइएको छ ।