Dhulikhel Eco Banner new

कृषि प्रधान देशमा कृषिका समस्या : कसरी हुन्छ समाधान ?

12.96K
shares

काठमाडौँ, २३ चैत । कृषि क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका उपाय पहिल्याउने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्राविधिक सहयोग तथा साल्ट ट्रेडिङ कर्पोरेशन तथा इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि राजधानीमा बृहत् संगोष्ठीको सुरु भएको छ ।

गोष्ठीमा कृषिमा आधारभूत कृषि सामग्री जस्तै सिँचाइ, मल, उन्नत बीउलगायतको अवस्थाको विश्लेषण गरी समस्या समाधानका सम्भावनाका बारेमा छलफल हुने कर्पोरेशनले जनाएको छ ।

अधिकांश नेपाली कृषिमा आधारित रहेका छन् । एक तथ्याङ्कअनुसार नेपालका ६० प्रतिशत बढी जनता कृषिमा संलग्न छन् । कृषिमा अत्यधिक जनशक्ति आधारित हुँदाहुँदै पनि उल्लेख्य मात्रामा कृषि उपजको आयात हुँदै गएको छ । आयात बढ्नुका साथै निर्यात घट्दै जाँदा मुलुकको व्यापार घाटा ह्वात्तै बढेको छ ।

कृषि विकासका आधारभूत आवश्यकताका रूपमा रहेका कृषि सामग्रीको आपूर्ति तथा उपलब्धता न्यून हुनाका साथै भरपर्दो पनि छैन । जसका कारण आवधिक योजनाले कृषिका लागि निर्दिष्ट गरेका लक्ष्य तथा आशातितरूपमा कृषिको विकास हुन सकेको छैन ।

कृषिमा भइरहेको ठूलो लगानीले उचित प्रतिफल दिन नसकिरहेको अवस्थामा आयोजना गरिएको गोष्ठीमा कृषि सामग्रीहरुको आपूर्ति, कृषिको यान्त्रिकीकरण र कृषि अनुदान विधिका बारेमा विस्तृतमा समीक्षा हुने कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।

संगोष्ठीमा कृषि क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र कृषिका रूपान्तरणका लागि अख्तियार गर्नुपर्ने नीति सम्बन्धमा विभिन्न १२ वटा कार्यपत्र प्रस्तुत हुने उहाँले बताउनुभयो । नेपाल तथा भारतका कृषि विज्ञले प्रस्तुत गरेका कार्यपत्रमाथि विस्तृत छलफल गरी प्राप्त सुझाव कृषि मन्त्रालयमा पेस गरिनेछ ।

कार्यपत्रमाथि हुने छलफल र निस्कने निष्कर्ष नेपालको कृषि क्षेत्रमा आगामी दिनका लागि मार्गनिर्देश हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कर्पोरेशका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठको अध्यक्षतामा सञ्चालित गोष्ठीमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिवद्वय गोविन्दप्रसाद शर्मा र निरु दाहाल पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

यसैबीच नेपाली किसानहरुले उपलब्ध कृषि सामग्रीको सही उपयोग गरी उत्पादन वृद्धि गरी लाभ हासिल गर्नसक्ने उद्देश्यले इन्डियन पोटास लिमिटेडले एक प्रचार वाहन उपलब्ध गराएको छ । उक्त वाहनको सञ्चालन तथा व्यवस्थापन भने कर्पोरेशनले गर्नेछ ।