GBIME

तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

1.26K
shares

काठमाडौं, ३० फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो ।

उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले मासिक रु एक लाख ५७ हजार आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताएका छन् । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।

उपमहानगरपालिकाले आफूले उठाएको करिब रु ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । रु २ करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा रु पाँच हजार पाँच सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताएका छन् । तरकारी बजारमा तरकारी र फलफूल व्यापार गरिँदै आएको छ ।