कृषि अनुसन्धानको गुणस्तरका लागि नार्कलाई अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने

6.6K
shares

काठमाडौं, २२ भदाै । कृषि अनुसन्धानको गुणस्तरका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

कृषि वैज्ञानिक समाज नेपाल (सास नेपाल) को आयोजनामा नार्कको केन्द्रिय कार्यालय खुमलटार, ललितपुरमा ‘नेपालका प्रमुख कृषि नीतिहरूः नीतिगत प्रावधान, अन्तर र अगाडिको बाटो’ बिषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बिज्ञहरुले यस्तो जोड दिएका हुन् ।

कृषि अर्थशास्त्र समाजका महासचिव एवं नार्कका सेवानिवृत्त वरिष्ठ बैज्ञानिक डा. देवेन्द्र गौचनले राष्ट्रिय कृषि अनुसन्धान कोषलाई कार्यान्वयनमा ल्याई कृषि अनुसन्धानलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए । संविधानले कृषि प्रसार गर्ने मुख्य जिम्मेवारी स्थानिय सरकारलाई अधिकार दिए पनि आर्थिक स्वतन्त्रता र दक्ष जनशक्तिको अभाव तथा संघीय सरकारप्रतिको जवाफदेहीता न्युन भएका कारण  कृषि नीतिहरु कार्यान्वयनमा समस्या भएको निष्कर्ष गौचनको रहेको छ ।

राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा.कृष्ण प्रसाद तिम्सिनाले नेपालमा कृषिसंग सम्बन्धित मुख्य नीतिहरुमा भएका प्रावधान, कार्यान्वयनमा देखिएका समस्या र नीतिगत सुधार र अन्तरको विश्लेषण गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषि नीतिहरुलाई मुल्य श्रृखलाका आधारमा  चार भागमा बिभाजन गरी विश्लेषण गरेका तिम्सिनाले कृषक तथा व्यावसायीका माग अनुसार छोटो अवधिमा पाक्ने जलवायु अनुकुलन र पोषण युक्त जातहरु उन्मोचन गरिएको कार्यपत्रमा प्रस्तुत गरे ।

जात र नश्ल प्रविधि, उत्पादन र व्यवस्थापन प्रविधि, उत्पादनपरान्त प्रविधि, मुल्य श्रृखला र बजार व्यवस्थापन तथा सस्थागत व्यवस्था र शुसासनको बारेमा उनले आफ्नो कार्यपत्रमा उल्लेख गरेका थिए ।

जात र नश्ल प्रविधि सम्बन्धमा बीज दर्शनले सन् २०२५ सम्ममा ६० वटा हाईब्रिड निकाल्ने लक्ष्य राखेता पनि हाल सम्म १५ वटा मात्र हाईब्रिड विकास गरिएको र  निजि क्षेत्रको योगदान शुन्य रहेको तिम्सिनाले जनाएका छन् ।

उत्पादन र व्यवस्थापन प्रविधि बिषयमा उनले संरक्षण कृषि, यान्त्रिकरण, परिशुद्धता कृषि, बायोटेक्नोलोजी, असल कृषि अभ्यास आदीमा जोड दिनु पर्ने निष्कर्ष निकालेका छन् । मुल्य श्रृखला र बजार व्यवस्थापन सम्बन्धि अध्ययन अनुसन्धानमा कृषि अनुसन्धान संचालन बजेटको जम्मा २ प्रतिशत मात्र छुट्टाईएको उनले जनाएका छन् । जुन अपुग बजेट रहेको र यसलाई बढाउनुपर्ने सुझाव उनको छ ।