Mangaldeep Aagarbatti
GBIME

ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल

1.49K
shares

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।
१० प्रतिशत बोनस वितरण गरेपछि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.३५ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ६.१२ प्रतिशत बढेको छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब २० करोड ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

National life Banner