Dhulikhel Eco Banner new

वित्तीय सेवा प्रदायकले खाता नम्बर, ओटिपी, पासवर्ड, वा व्यक्तिगत विवरण माग्दैनः प्रवक्ता पण्डित

ठगीको जालमा पर्ने प्रमुख कारण लोभ र छिटो धनी हुने चाहना हो

468
shares

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डितले डिजिटल प्रविधिको विकास र विस्तारले वित्तीय सेवाको पहुँच र प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि गरेसँगै, ठगी र साइबर अपराधका घटना पनि निकै बढ्दै गएको बताएका छन्। नेपाल टेलिभिजनको ‘वित्तीय साक्षरता’ कार्यक्रममा प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

प्रविधिको सही प्रयोगले जुनसुकै सेवा डिजिटल माध्यमबाट सहज रूपमा प्रदान गर्न सकिने अवस्था बनेको छ, तर त्यसकै छायाँमा नकरात्मक प्रवृत्तिहरू पनि तीव्र गतिमा विकास भइरहेका समेत बताए ।

उनका अनुसार हामीले कल्पना गरेका हरेक सेवा अहिले प्रविधिको माध्यमबाट उपलब्ध हुँदै गएका छन्, तर यस सँगै प्रविधिलाई कसैले अरूको धन सम्पत्ति ठग्न, चोरी गर्न, ठगीका नयाँ नयाँ तरिकाहरू अपनाउन पनि प्रयोग गर्न थालेका छन्। प्रविधि जहाँ विकास हुँदैछ, त्यहाँ सुविधा मात्रै होइन, जोखिम पनि सँगै आइरहेको छ।

उनले भने, “विकासको गति द्रुत छ, हामीले चाहेका धेरै काम अब डिजिटलबाट सजिलै गर्न सक्छौं, तर प्रविधिलाई दुरुपयोग गर्नेहरूको पहुँच पनि उस्तै रुपमा बढेको छ। हामीलाई थाहा नदिई, हाम्रो मोबाइलमा आएरै डेटा लिने, खाता खोल्ने, रकम ट्रान्सफर गर्ने जस्ता घटना भइसकेका छन्। यस्ता सबै समस्या समाधान गर्न भनेको वित्तीय साक्षरतामै निर्भर रहन्छ।”

उनका अनुसार अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको युवा पुस्ता ठगीको केन्द्रबिन्दुमा हुनु हो। पछिल्लो तथ्यांक अनुसार १९ वर्षदेखि ३० वर्षसम्मको उमेर समूह ठगिने र ठग्ने दुबैका लागि मुख्य लक्ष्य भएको देखिन्छ। उनले स्पष्ट रूपमा भने, “आजभोलि युवापुस्तामाझ लोभ, छिटो धनी हुने चाहना, अनावश्यक गिफ्टप्रति आकर्षणजस्ता प्रवृत्तिले उनीहरूलाई ठगीको जालमा पारिरहेको छ।”

उनले उदाहरण दिँदै भने, “हामीले एकै रातमा १० लाखदेखि २० लाख रुपैयाँसम्म चोरिएको घटना पनि देखेका छौं। कसैले फोन गरेर भन्यो, तपाईंलाई गिफ्ट आइरहेको छ, वा तपाईंको पैसा डबल हुन्छ, तपाईँ चिठ्ठामा पर्नुभयो — अनि मानिसहरू विश्वास गर्न थाल्छन्। त्यही नै ठगीको जालो हो।”

उनले थपे, “यस्ता जालमा पर्नुको मुख्य कारण लोभ हो। कसैले भन्यो, तपाईंको पैसा २ दिनमा दोब्बर हुन्छ, वा आइफोन सस्तोमा पाइन्छ। त्यस्तो प्रस्ताव सुन्यौ, पत्यायौं, अनि चिट्ठा पर्‍यो भनी ठगको जालमा पर्‍यौं।”

उनले वर्तमान समयमा प्रयोगकर्ताहरू स्वयंले पनि आफ्ना गोप्य विवरण जस्तै युजरनेम, पासवर्ड, नागरिकता नम्बर, पासपोर्ट नम्बर, वा ओटिपी सजिलै सँग अञ्जान व्यक्तिहरूलाई दिने प्रवृत्ति भएकोमा गम्भीर चिन्ता व्यक्त गरे।

उनले भने, “अहिले त प्रयोगकर्ताले स्क्रिन नै सेयर गर्छन्, जुन अत्यन्तै खतरनाक कुरा हो। स्क्रिन सेयर गर्नु भनेको तपाईंले चोरलाई आफ्नो ढुकुटीको साँचो दिएको सरह हो। अनि साँचो दिइसकेपछि चोरले झिकिहाल्छ। अहिलेको समयमा सबैभन्दा सजिलो तरिका यही हो — स्क्रिन सेयरमार्फत ठगी।”

उनका अनुसार, ठगहरूले यस्तो वातावरण बनाउँछन् जसले प्रयोगकर्तालाई भ्रममा पार्छ। उनीहरूले आफूलाई बैंकको कर्मचारी, मोबाइल सेवा प्रदायक, अन्तर्राष्ट्रिय कुरियर कम्पनी वा कुनै आधिकारिक संस्था बताउँछन्, अनि लिंक पठाउँछन्। त्यो लिंक खोल्नासाथ तपाईंको मोबाइल, खाता वा ईमेल सबै जोखिममा पर्छ।

पण्डितले भने, “हाम्रो अनुभवमा, धेरैजसो ठगीहरू यस्तै भावनात्मक, लोभपसल प्रस्तावबाट सुरु हुन्छन्। ठगहरूले भन्छन् – तपाईं चिठ्ठामा पर्नुभयो, तपाईंलाई गिफ्ट आउँदैछ, तपाईंले यति रुपैयाँ भुक्तानी गर्नुपर्छ, तपाईंको केवाइसि अपडेट गर्नुपर्छ। अनि मानिसहरूले आफै ओटिपी पठाउँछन्, पासवर्ड दिन्छन्, स्क्रिन सेयर गर्छन्। त्यसपछि ठगी सम्पन्न हुन्छ।”

उनले स्पष्ट रूपमा भने, “चिठ्ठा नकाटी कसरी पर्छरु पैसा चाडै डबल हुन्छ भन्ने कुरा कसरी पत्याउन सकिन्छरु यति सजिलै धनी हुने बाटो हुँदैन। त्यसैले हामी सबैले ‘टु गुड टु बी ट्रु’ भन्ने कुरा मनन गर्नुपर्छ।”

उनले जानकारी गराएअनुसार नेपाल राष्ट्र बैंकले निरन्तर वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा विभिन्न माध्यमबाट नागरिकलाई चेतना फैलाउने प्रयास भइरहेको छ। बैंकले नागरिकहरूलाई भन्ने गरेको स्पष्ट सन्देश के हो भने — “कुनै पनि वित्तीय सेवा प्रदायकले तपाईंको खाता नम्बर, ओटिपी, पासवर्ड, वा व्यक्तिगत विवरण माग्दैन।”

उनले आग्रह गर्दै भने, “आफ्नो मोबाइलमा अचानक इत्ए आयो भने बुझ्नुपर्छ — कसैले तपाईंको खाता खोल्ने प्रयास गरिरहेको छ। त्यसबेला तुरुन्त सावधानी अपनाउनुहोस्। ओटिपी पठाउनु भनेको ठगलाई तपाईँको ढोका खोलिदिनु हो।”

उनले सबै प्रयोगकर्तालाई सावधानी अपनाउन, आफ्नो व्यक्तिगत विवरण कसैलाई पनि नदिन र कुनै पनि अज्ञात लिंक वा फोन कलमा लोभ नगर्न सल्लाह दिए।

उनका अनुसार, अहिले धेरैजसो वेबसाइटहरू यस्तो बनाइन्छ कि जुन सरकारी वा बैंक संस्थाजस्तै देखिन्छन्। यदि त्यस्ता लिंक झुक्किएर पनि क्लिक गरियो भने तपाईंको सम्पूर्ण विवरण ठगको हातमा पुग्न सक्छ।

अन्त्यमा उनले भने, “प्रविधिको विकाससँगै सुविधा त आयो, तर त्यो सुविधा उपयोग गर्न जान्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। आफ्नो विवरण सुरक्षित राखौं, लोभमा नपरौं, आफैं पनि साक्षर बनौं र अरूलाई पनि सचेत गराऔं। तब मात्र हामी सुरक्षित डिजिटल भविष्यतर्फ अघि बढ्न सक्छौं।”

केटिएम भ्वाइसले उत्पादन गर्ने ‘वित्तीय साक्षरता’ कार्यक्रम नेपाल टेलिभिजनको समाचार च्यानलमा हरेक शुक्रबार साँझ ६ः२५ बजे प्रसारण हुँदै आएको छ । टेलिभिजन सेटमा हेर्न छुटाउनेहरुका लागि उक्त अन्तरवार्ता केटिएम भ्वाइसले आफ्नो युटुव च्यानलबाट समेत प्रशारण गर्दै आएको छ ।