नाडेप लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै नाफा पनि घट्यो

3.59K
shares

काठमाडौ, १४ वैशाख । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड ३७ हजार रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४९.९८ प्रतिशत घटेर ५ करोड ६९ लाख रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.१४ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १७.०२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ५१.२० प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४० प्रतिशत बढेको छ। लघुवित्तको सापटी २.५२ प्रतिशत, निक्षेप १३.८६ प्रतिशत र कर्जा ११.६५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ रुपैयाँ ८५ पैसा कम हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको यस्तो आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५७ पैसा रहेको छ।