बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

वि.सं.२०८१ जेठ २४ बिहीवार ०६:००
shares

काठमाडौं, २४ जेठ । बीमा भनेको कसैको ज्यान वा सम्पत्तिको नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो ।
यसमा बीमा गर्नेले बीमाको शर्त अनुसार आफ्नो नियन्त्रणभन्दा बाहिरको अवस्थाले ज्यान वा सम्पत्तिमा नोक्सानी हुँदा निश्चित रकम प्राप्त गर्छ । पानी पर्दा हामी नभिज्नका लागि छाता प्रयोग गछौँ । छाताले हाम्रो शरीर र सम्पत्तिलाई ठूलो पानी परे पनि बचाउँछ ।
जसरी छाता बोकेर हिँड्दा कुनै पनि बेला पर्न सक्ने पानी र घामबाट पनि जोगिन सकिन्छ, त्यसै गरी बीमा गर्दा हाम्रो जीवन, सम्पत्ति र अन्य बहुमूल्य वस्तुको सुरक्षा हुन्छ । बीमाले हामीलाई यी आकस्मिक अवस्थामा आइपर्ने आर्थिक भारबाट बचाउँछ ।
बीमाका प्रकारहरु:
बीमा २ प्रकारका हुन्छन् । एउटा जीवन बीमा र अर्को निर्जीवन बीमा ।
१। जीवन बीमाः यस प्रकारको बीमा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमा अवधिसम्म बीमित जीवित रहेमा रकम प्राप्त हुन्छ र मृत्यु भएमा हकवालाले रकम प्राप्त गर्छ ।
२। निर्जीवन बीमाः यसमा अग्नि बीमा, हवाई बीमा, मोटर बीमा, घरको बीमा तथा ठेकेदार बीमा र अरू बीमा पर्दछन् ।