के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वि.सं.२०८१ पुस १८ बिहीवार ०६:००
shares
काठमाडौं, १८ पुस । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।
ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन ।
अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ ।
नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।
बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?