५५ हजारको साइकलदेखी दुई करोडको कारसम्म
वि.सं.२०८० भदौ २८ बिहीवार १८:२१
shares
काठमाडौं, २८ भदौ । भृकुटीमण्डप परिसरमा सुरु भएको नाडा अटो शोमा दर्शकको उपस्थिती क्रमश बढ्दै गएको छ । बिहिबार दिउँसोको भिडभाडले अटो शोमा सहभागी व्यवसायी निकै उत्साही थिए । नयाँ सवारी साधन किन्ने योजनामा रहेका मात्रै हैन, कलेज पढ्दै गरेका युवा युवती समेत अटो शो अवलोकनमा सहभागी थिए । सवारी साधनका बारेमा जानकारी लिनुका साथै ठाउँ ठाउँमा उभिएर सेल्फी खिच्नेहरुको भिड देख्दा अटोमोबाइल व्यवसायीहरुले भने जस्तै यो शो वास्तवमै ‘बिगेष्ट शो’ भएको आभाष हुन्थ्यो ।
विभिन्न स्टल राखेर बसेका ब्यवसायीहरुलाई आफ्ना उत्पादनका बारेमा ‘ब्रिफिङ’ गर्न भ्याई नभ्याई थियो । अटोमोबाइल व्यवसायीको कुम्भ मेला मानिने यो शो वास्तवमै कुम्भ मेला नै बनेको थियो । साइकल, मोटरसाइकर र विभिन्न डिजाइनका कारहरुका बारेमा यो शोमा जो सुकैले सहजै जानकारी लिन सक्छन् । ५५ हजारको मोटरसाइकलदेखी दुई करोडसम्मको कार पाइने यो मेला भदौ ३१ गतेसम्म सञ्चालन हुने भएको छ । शो मा सहभागी केही व्यवसायीसंग गरिएको कुराकानी यस्तो छ :
इभी गाडीमा आकर्षण बढ्दै छ : पंकज यादब
नाडा अटो शो २०२३ मा हामीले जी डब्लुको इभी गाडी लिएर आएका छौं । यो गाडीको मुल्य ४७ लाख पचास हजार रुपैयाँ पर्छ । यो विश्वव्यापी मोडल हो । यसका फिचरहरु नेपाली बजारमा सहजै पाइन्छ । यो गाडीको विषयमा सर्वसाधारणको चासो निकै बढ्दै गएको छ । त्यसो त अहिले बजारमा सर्वसाधारणको चासो नै इभि गाडीहरुप्रति छ ।
हामी पेट्रोल, डिजेल वाला गाडी पनि बिक्री गर्छौ तर, जनचासो इभिगाडीमै बढी भएको पाउछौं । हामीसंग भएको मध्ये सबै भन्दा सस्तो इभि नै यहि हो ४७ लाख पचास हजार पर्छ । महंगोमा ह्याभल एसिक्स भन्ने छ त्यसको चाँही १ करोड १६ लाख ९५ हजार पर्छ ।
इभि गाडीका फिचर राम्रो हुनुको साथै सरकारले करमा सुविधा पनि दिएकाले पनि सर्वसाधारणको आकर्षण बढेको छ । अन्य मुलुकको तुलनामा नेपालमा इभी गाडी सस्तोमा पाइन्छ ।
सबैलाई हुने खालका गाडी राखेका छौं : सन्दिप शर्मा
हामीसंग दुबै किसिमका गाडीहरु छन् । सबै वर्गका ग्राहकको चाहनालाई ध्यानमा राखेर हामीले डिजेल, पेट्रोलबाट चल्ने र बिजुलीबाट चल्ने दुबै थरी गाडी राखेका छौं । इभीमा हामीसंग दुईटा मोडलका गाडी छन् । एउटा गाडी ६५ लाख हाराहारी रहेको छ भने अर्को १ करोड तीन लाख पर्ने गाडी छ ।
बिहीबार दोस्रो हाफमा क्राउड बढ्दै गएको छ । बुकिङ पनि बढ्दै गएको छ । सवारी साधानका बारेमा सोधी खोजी गर्नेहरु एकदमै राम्रो हुनुहुन्छ । इभी ब्राण्ड नयाँ भएकाले यी गाडीहरुप्रति सर्वसाधारणको चासो बढी छ । कतिपय गाडीका विषयमा जानकारी लिन पनि आउनु भएको छ । हामी संग सस्तोमा ३० लाखदेखी दुई करोडसम्मको गाडी छ ।
सदाबहार पल्सर : सुमन
पल्सरको नयाँ मोडलमा एनएस २०० र एन १६० छ । यो चाँही सन २०१२ देखि चलिरहेको बाइक हो । अफसाइट अन ड्रप, डिजिटल स्मार्ट मिटरलगायतका सुविधा थपिएको छ । यो बाईक युवाहरुले अत्याधिक मन पराएको बाइक हो । अहिले पनि सोधीखोजी र बुकिङ गर्नेहरु निकै आउनु भएको छ । म एकदमै उत्साहित छु ।
५५ हजारमा साइकल : इश्वर चौधरी
हाम्रोमा ५५ हजारदेखी १ लाख ४० हजारसम्मका साइकल छ । मिनिमम २५ देखी ६० किलोमिटरसम्म गुड्छ । ११ वटा भेरिएन्टमा पाइन्छ ब्याट्री र मोटरमा दुई वर्षको वारेन्टी दिन्छौं । सर्वसाधारणको चासो यति धेरै छ । मलाई लाग्छ यो दशैंमा मात्रै म एकसय भन्दा बढी साइकल बिक्री गर्छु ।
नाडा अटो शो आउँने दर्शकहरुका लागि प्रवेश शुल्क समेत नाडा अटो शो आयोजकले तोकेको थियो । जसअनुसार साधारण व्यक्तिको लागि २०० रुपैयाँ कायम भएको थियो भने विद्यार्थीहरुका लागि १५० रुपैयाँ तोकेको थियो । सो शोमा दर्शकको भिडभाड हुँदाहुँदैपनि कतिपयले भने प्रवेश शुल्क महंगो भएको गुनासो गरे । ‘लाख लाखका गाडी बिक्री गर्नेहरुले हामीलाई सित्तैमा घुम्न दिएको भए के बिग्रिन्थ्यो ?’ सहभागी एक दर्शकले गुनासो गर्दै भने ।