खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदै गएको छ : अध्यक्ष ढकाल
वि.सं.२०८१ असोज २ बुधवार ११:५३
shares
काठमाडौं, २ भदौ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदै गएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले निजि क्षेत्रलाई अझै पनि प्राथमिकतामा नराख्दा अर्थतन्त्र धरासयी भइरहेको बताएका हुन् ।
उनले भने, ‘बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो । जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भएर वर्हिगमन पनि सहज हुन्छ । त्यहाँ सरकार सहजकर्ताको भूमिकामा रहन्छ र गल्ती भए सर्वमान्य न्यायको सिद्धान्त अनुरुप सजाय हुन्छ ।’
सरकारले निजी क्षेत्र निरन्तर निगरानीमा राख्ने गरेको उनको भनाइ रहेको छ । ‘नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् । लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढन सकेको छैन र रकम बैंकिंग माध्यममा थन्किएको छ’ ढकालले भने, ‘हामीले कार्यभार सम्हाल्दै गर्दा देखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन बारम्बार आग्रह गरिरहेका छौ । यसको सुनुवाइ भएको छैन भने बजार पनि चलायमान हुन सकेको छैन ।’
ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगरौ भन्दा सरकारपक्षबाट सुनुवाइ नभएको ढकालको गुनासो रहेको छ । वित्तिय क्षेत्रमा निक्कै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ । तर पनि बजारमा अपेक्षित माग बढन सकेको छैन र ऋण प्रवाह बढन नसकेको बताए ।
अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरि आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुने गरि नै छलफल भैरहेको उनको भनाइ रहेको छ । उनले भने, ‘बैंक वित्तीय संस्था सम्बन्धि ऐनमा हुने संसोधन छ । तत्काल एक प्रतिशत भन्दा बढि बैंकमा शेयर हुने व्यक्तिले अन्यत्रबाट ऋण लिनै नपाउने भन्ने व्यवस्था गर्ने भनिएको छ । हामीले मुलुकको निजी क्षेत्र र बैंकिङ क्षेत्रको बिकासक्रम हेर्नुपर्छ । नेपालमा पहिलो बैंक स्थापना भएको ८५ बर्ष नाघेपनि निजी क्षेत्रको सहज प्रवेश भएको चार दशकमात्रै भएको छ ।’
‘नेपालको बैंकिङ क्षेत्र व्यवस्थित छ । नियमन र सुपरिवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गरौं तर लगानीकलाई निषेध र नियन्त्रण नगरौ । उद्यमी व्यवसायीले बैंकमा स्वामित्व भएकै कारण अन्यत्र लगानी गर्न नपाउने हो भने हामीकहाँ उत्पादन र रोजगारी सिर्जना कसरी हुन्छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत मात्रै छ । करिब एक सय ७५ जना सांसदको उपस्थिति रहेको उक्त कार्यक्रम हामीले गरको सम्भवतः पहिलो थियो । तीन मन्त्री र अधिकांश समिति सभापतिज्यूहरुको सहभागिता थियो । लगानी बढाउने बिषयमा हामीले वृहद अन्तरक्रिया गर्यौ । उहाँहरुले निजी क्षेत्रको बिकास र लगानी विस्तारमा सकारात्मक रुपमा साथ दिने प्रतिवद्धता जनाउनुभएको छ ’ उनले भने ।
देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेका बताउँदै स्वदेशी पुँजीमा नै विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिए ।
बिम्स्टेक क्षेत्रमा लगानी र व्यापार बढाउन विम्स्टेक चेम्बर अफ कमर्शको अवधारणा २०२३ जुन १६ मा कोलकतामा प्रस्ताव गरेको र यस वर्ष अगष्ट ७ मा नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक बिजनेस कन्क्लेभमा सबै देशका चेम्बरहरुले त्यसलाई अगाडि बढाउने निर्णय गरेको पनि बताए । उनका अनुसार उद्यमी व्यवसायीहरुलाई पनि स्वच्छ र स्वस्थ व्यवसायलाई प्रवद्र्धन गरौ भन्ने आग्रह हो । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई हामीले बढावा दिनुपर्छ । साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताए ।