GBIME

‘शेयर बजार र घरजग्गामा विदेशी लगानी चाहिन्छ’

1.12K
shares

काठमाडौं, १४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले सेयर बजारमा विदेशी नागरिकलाई लगानी गर्न दिनु पर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि महासंघको राजस्व परामर्श समितिले तयार पारेको सुझाव पत्रमा सेयर बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएको हो ।

महासंघले विदेशी मुद्राको कारोबार खुला गर्नुपर्ने समेत बताएको छ । यसले कम्तीमा नेपाली रुपैयाँ र अमेरिकी डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङको समस्यालाई टेवा पुग्ने महासंघको भनाइ छ ।

महासंघको राजस्व परामर्श समितिका सभापतिले सुझाव पत्रमा संस्थापक समूहको सेयरलाई सेयर बजारमा साधारण समूहको सेयर सरह कारोबार गर्ने व्यवस्था गर्न समेत माग गरेको छ । अहिले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको सेयरलाई संस्थापक र सर्वसाधारण समूह गरेर दुइ भागमा विभाजन गरिएको छ । दोस्रो बजारमा संस्थापक र सर्वसाधारण समूहको छुट्टाछुट्टै कारोबार हुन्छन् भने सेयर मूल्यमा बीच दुई समूहबीच अन्तर छ ।

समितिका सभापति सञ्जिवकुमार अग्रवालले प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्न दिदा बजारको विकासमा मद्दत पुग्ने बताए । उनले नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था समेत गर्नुपर्ने बताए ।

सभापति अग्रवालले घरजग्गा क्षेत्रमा पनि विदेशी लगानी भित्र्याउनु पर्ने बताए । घरजग्गा क्षेत्रलाई उद्योगको रुपमा विकास गरी हाउजिङमा विदेशी लगानी विदेशी लगानी ल्याउनु पर्ने बताएका हुन् । सेयर बजार र हाउजिङमा विदेशीलाई स्वीकृति दिए, विदेशी मुद्रा भित्र्याउन सघाउ पुग्ने उनको भनाइ छ ।
सोमबार भएको अन्तरक्रियामा सभापति अग्रवालले छलफलका लागि कार्यपत्र प्रस्तुत गरेका हुन् । यसमा अन्य उद्योगी व्यवसायीहरुको पनि धारणा लिने र अन्तिम रुप दिएर अर्थमन्त्रीलाई सुझाव हस्तान्तरण गरिने अग्रवालले बताएका छन् ।