विकाश हाइड्रोपावरको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन

वि.सं.२०८२ असार २० शुक्रवार १७:४४
shares

काठमाडौं, २० असार । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा उल्लेख्य संख्यामा लगानीकर्ताले आवेदन दिएका छन्। प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री व्यवस्थापनमा खुलाइएको आईपीओमा असार १८ गतेदेखि असार २२ गतेसम्म आवेदन दिने समय खुला गरिएको हो।
कम्पनीले सार्वजनिक जानकारी अनुसार, मिति २०८२ असार २० गतेसम्म कुल १४ लाख ७८ हजार ८३९ जना लगानीकर्ताले १ करोड ८२ लाख २४ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो माग कम्पनीले निष्कासन गरेको २९ लाख ४२ हजार ७६० कित्ता शेयरको तुलनामा झन्डै ६ गुणा बढी हो।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र “मेरो शेयर” अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना हाल ४।५५ मेगावाट क्षमतामा सञ्चालनमा आइसकेको छ। उक्त आयोजना मिति २०७९ फागुन १७ गतेदेखि व्यावसायिक रूपमा उत्पादनमा गई राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गरिरहेको छ।
लगानीकर्ताको उत्साहजनक सहभागिताले कम्पनीको आगामी वित्तीय र सञ्चालन योजनामा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अब शेयर बाँडफाँट प्रक्रिया चाँडै सम्पन्न गरी शेयरधनीको खातामा शेयर पठाउने कार्य अगाडि बढाइनेछ।