Nepal Life Banner

भारतमा बढ्यो चरम उर्जा सँकट, दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ

3.78K
shares

एजेन्सी, १६ वैशाख । भारतको कूल जडित क्षमता ४ लाख मेगावाट बराबर छ । तर, विभिन्न राज्यहरुमा दैनिक १० घण्टाभन्दा बिजुली कटौती भइरहेको छ । गर्मी लगातार उकालो लागिरहेको बेला बिजुली कटौती भएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

रुस र युक्रेनका कारण अन्तर्राष्ट्रिय बजारमा कोइला सहजरुपमा आपूर्ति हुन सकेको छैन । भारतको कोल इण्डिया लिमिटेडले सहजरुपमा कोइला उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ ।

भारतको आन्तरिक उत्पादनसमेत प्रभावकारी बन्न सकेको छैन । सोही कारण विभिन्न राज्यमा लगातार बिजुली कटौती भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको राजधानी नयाँ दिल्ली पनि उत्तिकै प्रभावित भएको छ । खासगरी १६ राज्यमा सबैभनदा बढी बिजुलीको संकट देखिएको छ ।

उत्तर प्रदेशका गाँउहरुमा दिनभर मात्रै ४ देखि ६ घण्टा बिजुली उपलब्ध छ । शहरी क्षेत्रमा मात्रै ४ घण्टामात्रै बिजुली आइरहेको त्यहाँको सरकारी एजेन्सीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा ३ हजार मेगावाट बिजुली कमी भएको छ । मागअनुसार कुनै पनि ऊर्जा एजेन्सीले बिजुली दिन सकेको छैन ।

राजस्थानको हालत उस्तै छ । सो राज्यमा बिजुलीको माग ३१ प्रतिशतले बृद्धि भएको छ । तर, दैनिक ७ घण्टा भन्दा बिजुली काटिएको छ ।

पञ्जाबमा पनि अवस्था भयावह बनेको छ । सो राज्यमा थप ८ हजार मेगावाट बिजुली माग भएको छ । बिहारमा २–२ घण्टाको दरमा बिजुली काटिएको छ । ग्रामीण क्षेत्रमा १० घण्टाभन्दा बढी लोडसेडिङ गरिएको छ । हिमालञ्चल प्रदेशमा ६ घण्टा भन्दा बढी बिजुली काटिएको छ ।

गर्मी बढ्दै जाँदा भारतभरका एक चौथाईभन्दा बढी ऊर्जा उत्पादन केन्द्रहरु बन्द भएका छन् । देशभर नै लगातार १० हजारदेखि २८ हजार मेगावाटसम्म बिजुली कटौती भइरहेको छ ।

भारतका विभिन्न राज्यमा कही कम वा कही बढी होला, तर समस्या एउटै छ । कोइलाको अभावका कारण संकट बढेपछि कुनै पनि उपाय भारत सरकार र त्यसका एजेन्सीहरुमा देखिएको छैन ।

उत्तर प्रदेशमा मात्रै २३ हजार मेगावाट बराबरको बिजुलीको माग छ । तर, नियमित रुपमा १८ देखि २० हजार मेगावाट मात्रै बिजुली दिन सकेको छैन । पावर प्लान्टहरुले कोइलाको मौज्दात सकिएको भन्दै बिजुली उत्पादन थप कटौती हुने चेतावनी दिएको छ । ५० प्रतिशत भन्दा बढी पावर प्लान्टहरु कोइलाको अभावकै कारण बन्द भउका छन् ।

भारतको कूल जडित क्षमता ४ लाख मेगावाट भएपनि त्यसमा १ लाख १० हजार मेगावाट वैकल्पिक ऊर्जाका स्रोतमार्फत् उपलब्ध भइरहेको छ । दिनभर सौर्य प्रणालीले बिजुली दिएपनि साँझ परेपछि ती सबै प्रणाली बन्द हुनेछन् । वायु ऊर्जा प्रणालीबाट उत्पादन हुने बिजुलीको मात्रामा समेत गिरावट आएको छ ।

कूल २ लाख ८९ मेगावाट बिजुलीमध्ये ७२ हजार ७४ मेगावाट क्षमताको पावर प्लान्टले बिजुली उत्पादन बन्द गरेका छन् । प्रणालीमा १० हजार मगावाट बराबरको बिजुली कम भएपछि नियमितरुपमा नै लोडसेडिङको तालिका सार्वजनिक भएको उत्तर प्रदेश सरकारले जनाएको छ । देशभर रहेक कूल १७३ पावर प्लान्टमध्ये १०६ वटा प्लान्टमा कोइलाको मौज्दात शुन्यदेखि २५ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।

दैनिक १६ लाख ४० हजार टन कोइला आपूर्ति भइरहेको भएपनि माग २२ लाख टन बराबर छ । थमृन प्लान्टको साथमा २ करोड २० लाख टन कोइला मौज्दात रहेको केन्द्रीय कोइला तथा खनिज मन्त्री प्रल्हाद जोशीले बताएपनि पावर प्लान्टहरु तयसलाई मान्न तयार छैनन् ।

दिल्ली राज्य सरकारका मन्त्री सत्येन्द्र जैनले दिल्लीमा गहिरो ऊर्जा संकट देखिएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘विद्युत उत्पादन भैरहेको छ भने निरन्तरता दिने हो । यसमा कुनै समस्या हुनेछैन । तर, यदि पावर प्लान्ट बन्द भएमा यो दिल्लीका लागि निश्चितरूपमा समस्या हुनेछ ।

सत्येन्द्र जैनले देशमा कोइलाको अभाव भएको भन्दै २१ दिनको कोइला ब्याकअप गर्नुपर्ने तर धेरै विद्युत् केन्द्रमा एक दिनमात्रै कोइला बाँकी रहेको दाबी गरेका छन् ।

दिल्लीका ऊर्जा मन्त्री जैनले यसअघि बिहीबार र शुक्रबार स्थितिको सही आकलन गर्न आपतकालीन बैठक गरेका थिए । सोही मूल्यांकनका आधारमा देशको राजधानीमा विद्युत् उपलब्ध गराउने विद्युत् केन्द्रहरू कुनै अवरोधविना चलिरहनका लागि केन्द्रलाई कोइला आपूर्ति गर्न अनुरोध गरिएको भएपनि त्यसमा राजनीति घुसेको छ । अरविन्द केजरीवालको सरकारलाई अप्ठ्यारो पार्न भारतीय जनता पार्टीले आवश्यकतासँग खेल्न खोजेको देखिन्छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो समस्यालाई लिएर ट्वीट गरेका छन् । दैनिक भास्करको कटिङ पोष्ट गर्दै उनले लेखेका छन– ‘देशभर विद्युतको ठूलो समस्या छ । अहिले सम्म दिल्लीमा कुनै न कुनै तरिकाले व्यवस्थापन गरिएको छ । सम्पूर्ण भारतको अवस्था निकै गम्भीर छ । हामी सबै मिलेर यसको समाधान छिट्टै खोज्नुपर्छ । यस समस्यालाई सम्बोधन गर्न तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।’