जब डीडीसीले युक्रेनबाट ल्याएको बिकिरणयुक्त धुलो दुध बेच्याे…
वि.सं.२०८० असोज २४ बुधवार ०८:०३
shares

काठमाडौं, २४ असोज । काठमाडौंमा खानेपानीको हाहाकार थियो । एकगाग्री पानीका लागि पनि घण्टौ लाइन बस्न बाध्य थिए काठमाडौवासी । अहिले झैं पैसा हुँदैमा ट्याङ्कर बोलाए घरमा पानी राख्ने अवस्था थिएन । एक त अहिले जस्तो जताततै ट्याङ्कर थिएन, अर्को कुरा उ बेला घरमा पानी जम्मा गर्ने ट्याङ्की बनाउने चलन सुरु भैसकेको थिएन । खानेपानीको एउटा मात्रै विकल्प थियो । खानेपानी संस्थाले घरसम्म जोडिदिएको धारा । एक दुई दिन धारामा पानी आएन भने सर्वसाधारणलाई आपत परिहाल्थ्यो ।
प्रसंग २०४२ सालको हो । खानेपानी नपाएकै कारण सर्वसाधारण सरकारप्रति रुष्ट थिए । त्यहि बेला सोभियत संघको एउटा राज्यको रुपमा रहेको (अहिले युक्रेन) को चेर्नोमिल भन्ने ठाउँमा आँणविक दुर्घटना हुँदा हजारौं मान्छेले ज्यान गुमाए । त्यहि भट्टिबाट उत्पादित दुधको पाउडर संसारभर वितरण हुन्थ्यो । त्यहि आँणविक भट्टिबाट उत्पादित धुलो दुध डीडीसी (दुग्ध विकास संस्थान)ले पनि किन्ने गरेको रहेछ ।
उपभोक्ताको अधिकारका लागि काम गर्ने राष्ट्रिय उपभोक्त मञ्च स्थापना भैसकेको थियो । संस्थामा जोडिएका प्रेमलाल महर्जन तन्नेरी थिए । आँणविक भट्टिबाट उत्पादिन धुलो दुधमा आणविक बिकिरण छ भनेर कन्जुमर इन्टरपोल भन्ने अन्तराष्ट्रिय संस्थाले मञ्चलाई जानकारी दियो । दुधको पाउडरकै कारण सर्वसाधारणमा संक्रमण फैलिन सक्ने आशंका व्यापाक भयो । सामान्य भनसुनमा पाउडर नष्ट सम्भव थिएन ।
पञ्चायत काल । एउटा सरकारी संस्थाविरुद्ध आन्दोलन त्यति सजिलो थिएन । आन्दोलन गर्ने कि सर्वसाधारणलाई बिकिरणयुक्त दुध खान दिने ? महर्जनसहित उपभोक्तावादीहरुले आँट गरे । डीडीसीविरुद्ध लड्ने । सोही भट्टिबाट ल्याएको चारहजार क्वीन्टल धुलो दुध थियो डीडीसीसंग । पैसा तिरेर ल्याएको माल सकेसम्म नष्ट गर्न चाहदैन थियो डीडीसी ।
महर्जनलाई सम्झना छ । डीडीसीविरुद्ध आन्दोलन चर्किँदै जाँदा दुई किसिमको थ्रेट आयो । पहिलो थ्रेट थियो । आन्दोलनकारीलाई थुन्ने । दोस्रो आर्थिक प्रलोभन । दुई वटै थ्रेटले काम गरेन । आन्दोलन सुरु भएको १ हप्तामा चारहजार क्वीन्टल पाउडर नष्ट गर्न बाध्य भयो डीडीसी ‘त्यतिबेला बालाजुमा खाल्डो खनेर पुरिएको थियो ।’ महर्जनले भने ।
महर्जन लोकतन्त्रवादी हुन् । कुनै पनि प्रसंगमा राणा वा पञ्चको प्रसंसा गर्दैनन् । तर, पञ्चायतकालमा उपभोक्तावादी संस्थाले उठाएको माग राज्यले तत्कालै सम्बोधन गरेको प्रसंग भने उनी कहिल्यै भुल्दैनन् ।
संविधानकै बर्खीलाप
परिवर्तनका लागि हुने हरेक आन्दोलनमा सहभागी भएका महर्जनले गणतन्त्र आउनु अघि दलका नेताहरुले भनेको सुनेका थिए ‘गणतन्त्र आएपछि तपाई हाम्रो सासन आउछ । अनि देश बनाउछौं ।’ उनलाई नेताहरुले यो पनि भनेका थिए ‘देशलाई हामी सुन्दर बनाउछौं ।’ अहिले नेताको भनाई र गराईमा निकै अन्तर देखेका महर्जनलाई खाद्यान्नमा हुने गरेको मिसावटले चिन्तित बनाउँछ । ‘आज प्रत्येक नेपालीले विषादीयुक्त खान बाध्य छन् । महंगी उस्तै छ । अनुचित व्यापारिक काम गर्नेहरुको रवाफ बढ्दो छन् ।’ असन्तुष्टि व्यक्त गर्दै भन्छन् ‘यी सबै घटना हेर्दा राज्यको अभिभावकिय भुमिका कँही कतै भेटिँदैन ।’
जबकी नेपालको संविधान २०७२ ले उपभोक्ताको अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गरिसकेको छ । तर, पनि उपभोक्ताले कुनै राहत पाएको अनुभव गरेका छैनन् । जनताले मिसावटयुक्त खाने कुरा खान पर्ने । यता अनुचित कारोबार गर्नेहरु हाई हाई हुने घटनाले संविधानकै बर्खीलाप गरेको त छैन ? आफैंलाई बेला बेलामा प्रश्न गर्छन् महर्जन ।
उनी सिधा भन्छन् ‘अहिले बजारमा कालो बजारी, तस्कर र विचौलियाको राज चलेको छ । नेतृत्वमा लोभी पापी भएपछि यस्तै हुन्छ भन्ने लाग्छ उनलाई । गणतन्त्र आएको १६ वर्ष पूरा हुँदै गर्दा नेपालमा उपभोक्ता अधिकार चाँहि कुँजो हुँदै गरेको अनुभव गरेका छन् उनले । ‘महंगी र मिसावटले मान्छे यति हैरान छन् अहिले भन्दा त पञ्चायत नै ठिक भनेको सुन्दा मलाई दिक्क लाग्छ ।’ सर्वसाधारणले तानाशाही व्यवस्था नै ठिक छ भनेको सुन्दा नमज्जा लागेको कुरा गर्दै भने । ‘एकपटक फालेको व्यवस्थाप्रति मोह जाग्नु नेताहरुको असफलता हो ।’
काम गर्न सहज छैन
उपभोक्ताको हितका लागि काम गरेरै तीन दशक बिताएका महर्जनले बेला मौकामा धम्किको पनि सामना गर्नु परेको छ । बिचौलिया र कालोबजारीबाट थ्रेट आए पनि सज्जन व्यवसायीका तारिफले काम गर्ने उर्जा मिल्ने उनको भनाई छ ‘बेला बेलामा थ्रेट आउछ तर, सज्जन व्यवसायीले गज्जब गरिरहनु भएको छ भनेर भनेपछि आत्मबल बढेर आउँछ ।’ उनले भने ।
मजदुर संगठनको धम्कि
होटल रेष्टुरेन्टले सेवा शुल्क लिएपछि महर्जनको टोलीले सर्वोच्च अदालतमा मुद्दा हाल्यो । अदालतले ‘सेवा शुल्क लिन पाइदैन’ भनेर निर्णय ग¥यो । त्यो निर्णय आए लगत्तै मजदुर संगठनका एकजनाले फोन गरेर भने ‘तपाइलाई जोगिएर हिँड्नु होला ।’
खुल्ला अर्थनितीले उपभोक्ता पिडित
महर्जनले बिर्सेका छैनन् । कुनै बेला नेपालको पाँचै विकास क्षेत्रमा धान चामल कुट्ने तत्कालिन अत्याधुनिक मेसिन थियो । स्थानिय स्तरबाट किनेको धान विदेशमा निर्यात हुन्थ्यो । यहि मुलुक हो । अहिले कुनै पनि प्रदेश धान,चामललगायत खाद्यान्नमा आत्मनिर्भर छैन ।
यो स्थिती आउनुको दोष खुल्ला अर्थनितीलाई दिन्छन् उनी । ‘०५५÷०५६ सालतीर मुलुक पूर्ण रुपमा निजीकरण भएपछि यो संकट आएको हो ।’ उनले भने ।
उपभोग्यवस्तुसँग जोडिएका साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङलगायतका संस्थालाई कुँजो बनाउनुको परिणाम यो स्थिती आएको हो भन्ने लाग्छ उनलाई । कुनै समय यस्तो थियो नेशनल ट्रेडिङको डिलर बन्न पाउनुलाई अवसरको रुपमा लिन्थे व्यवसायी । उपत्यकामा मात्रै नेपाल खाद्य संस्थानबाट स्वीकृत प्राप्त ८ सय भन्दा बढी सुपथ मुल्य पसल हुन्थे ।
जब सरकारले खुल्ला अर्थतन्त्रको नाममा निजी क्षेत्रलाई बजारको जिम्मा दियो त्यहि दिनदेखी उपभोक्तामा मारमा परेको बुझेका छन् उनले ।
लालु प्रवृत्ति अस्ताउँछ
कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने मान्यता राख्ने महर्जन उपभोक्ताको दिन फिर्नेमा आशावादी छन् । छिमेकी मुलुक भारतको बिहार सुध्रेको उदहारण दिँदै भन्छन् ‘नेपालमा पनि नेतृत्वमा रहेका लालुप्रवृत्तिको अन्त्य भएपछि उपभोक्ताले अधिकार पाउँछन् ।’ राजनीतिक दलका नेतामा स्पष्ट दृष्टिकोण नभएकाले अहिले अन्यौलको स्थिती आएको हो भन्ने महर्जन दृष्टिकोणवाला व्यक्ति आएपछि देश बन्न बेर नलाग्ने बताउँछन् ।
पछिल्लो समय दलका नेताहरुमा नैतिकता ह्रास भएको बुझेका महर्जन अन्तिममा भन्छन् ‘युवालाई कृषिमा आकर्षित नगरी सुखै छैन । कृषिलाई औद्योगिक बनाउनुपर्छ । फेरी निर्यात गर्ने दिन आउँछ ।’