तीजमा लुगा किन्नेहरु दशैंमा आएनन्

वि.सं.२०८० कात्तिक ६ सोमवार ०९:५२
shares

काठमाडौं, ५ कात्तिक । कुनै बेला गरिबको खान्कीको रुपमा चिनिने ढिँडो अहिले रेष्टुरेन्टमा महंगो मुल्यमा बिक्री भएको सुन्दा निकै रमाइलो लाग्छ रि ब्लुम फेशन बुटिककी सञ्चालक लक्ष्मी गिरीलाई । ढिँडो, फापरको रोटी मार्सी चामलको ब्राण्डिङ भएकोमा खुसी छिन् उनी ।
उनले स्लोगान नै बनाएकी छिन् ‘नेपाली भएकोमा गर्व गरौं, नेपाली वस्तु प्रयोग गरौं ।’ उनको बुटिकमा नेपाली उत्पादनका कपडा प्रशस्त छ । आफ्नोमा आउनेलाई सुझावको भाषामा नेपाली उत्पादनको विशेषता बताउँछिन् । अल्लोबाट बनेको कपडाबाट महिला र पुरुषका लागि आकर्षक डिजाइनमा विभिन्न पोशाक बनाउने गिरीले पुरुषले लगाउने दौरा सुरुवाललाई विशेष फोकस गरेकी छिन् ‘दौरा सुरुवाललाई ब्राण्डिङ गर्ने उद्देश्य छ । हेरौं कति सफल हुन्छु ।’ उनले भनिन् ।
‘लोक्कल टु ग्लोबल’ उनको अभियान नै हो । उनलाई लाग्छ कुनै पनि उत्पादनलाई बृहत बनाउने हो भने काठमाडौं वा कुनै शहरमा स्थापित गरेर मात्रै हुँदैन विश्वभर चिनाउन सक्नु पर्छ ।’ विश्वभर प्रचार भएपछि मुलुकलाई समेत फाइदा हुने कुरा गरिन् । उनी बुटिक सञ्चालक हुन् आफ्नै व्यापारमा मात्रै केन्द्रित भएर कुरा गरिनन् ‘जुन सुकै चिज होस् हाम्रो नेपालमा उत्पादन हुने सामग्रीले विश्वव्यापी चर्चा पाउनु पर्छ ।’ नेपालको अकबरे खुर्सानी होस् या अल्लो । तराईमा पाइने बगिया या कर्णालीको स्टोनले विश्व बजारमा स्थान पाएमा नेपालको आर्थिक समृद्धि हुन्छ भन्ने लागेको छ उनलाई ।
विजनेश डामाडोल
बिगतका वर्षमा दशैं छेकोमा चिया पिउने समेत फुर्सद हँुदैन थियो । अहिले कुनै चाप छैन । आफुले थाहा पाएपछि पहिलो पटक आर्थिक संकटको सामना गरेकी गिरीसँग अहिले भन्दा कोरोना कालमा व्यापार राम्रो भएको अनुभव छ । ‘मेरोमा यसपाली ४० प्रतिशत ग्राहक कम आए ।’
कुनै समय यस्तो थियो मान्छेहरु लुगा कपडा नचाँहिदा पनि मन परेपछि अर्डर गरेर जान्थे । मामाघर जाँदा, टिका लगाउँदा वा घुम्न जाँदा भनेर एकै जनाले छुट्टा छुट्टै तीन जोर सम्म अर्डर गर्थे । यसपाली तिजमा लुगा सिलाएकाहरु दशैंमा आएनन् । ‘साउनमा सिलाएकाहरु तीजमा आएनन्, तीजमा लुगा सिलाउँनेहरु दशैंमा आएनन् ।’ आफ्नोमा आउने ग्राहकको विवरण सुनाइन् । कामको चाप घटेपछि दुई जना कामदारलाई विदा गर्नु प¥यो उनले ।
सरकार कतै देखिएन
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटको प्रभाव अहिले हाम्रो मुलुकमा परेको अनुभव गरेकी छिन् उनले । सर्वसाधारणले आम्दानी नभएकै कारण खर्च कम कम गरेको अनुभव गरेकी गिरी कपडाले पेट भरिदैन भन्नेमा सचेत छिन् ‘लुगा त पोहोरको पनि लगाउन मिल्छ खाने कुरा किन्नै पर्ने बाध्यता छ त्यही भएर सर्वसाधारणले यसपाली लत्ता कपडामा कम खर्च गरे ।’ ग्राहक घट्नुमा उनको आफ्नै विश्लेषण छ ।
दुई किलो चिनी किन्नका लागि मान्छेहरु दिन भर लाइन बसेको देखेकी गिरी सरकारको उपस्थिती शून्य रहेको बताउँछिन् । ‘हवाई र बसभाडा बढेको छ । बजारमा महंगी उस्तै चर्को खै त अनुगमन ?’ प्रश्न गरिन् उनले । काठमाडौं लगायत मोफसलका शहरमा सुपथ मूल्यका पसलहरु आवश्यकता अनुसार नखुलेको धारणा राख्ने गिरी अस्त व्यस्त पार्किङले पनि कतिपय व्यवसायीलाई असर गरेको धारणा राख्छिन् ।
जेसिसले दिएको दिक्षा
नेपाल जेसिसमा आबद्ध गिरीले बुटिक सुरु गरेको १४ वर्ष भयो । सन २००२ मा उनी जेसिसमा अब्जरर्भर थिइन् । उमेर नपुगेका कारण केही समय अब्जरर्भर मात्रै भइन् । जेसिसले दिएको दिक्षा नै आफ्ना लागि रामबाण भएको अनुभव गरेकी छिन् ।
अहिले व्यापारको अतिरिक्त सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । समय व्यवस्थापन गर्न सजिलो छैन । जेसिसको आवद्धताले उनलाई निकै सहज भएकोे छ । ‘व्यस्त मान्छेले जहिले समय निकाल्छ । अस्तव्यस्त मान्छेले समय छैन भन्छ ।’ तालिम लिँदा प्रशिक्षकहरुले भन्थे । दुई दशक अघि सुनेका कुरा अहिले उनले व्यवहारमा लागु गरेकी छिन् । सामाजिक गतिविधिमा प्राय शनिबार समय छुट्याउने गरेकी गिरीका धेरै ग्राहक चिनजानकै छन् त्यसकारण उनी बुटिकमा नहुँदा पनि फरक पर्दैन । ‘म नभएको बेला कोही आउनु भयो भने पनि फोनबाटै कुरा गरेर मिलाउछु ।’ उनले भनिन् ।