Dhulikhel Eco Banner new

‘ब्याजदर घटे पनि बजार चलायमान नभएर व्यापार अघि बढ्न सकेको छैन्’

18.28K
shares

काठमाडौं, १९ मंसिर । केटिएम भ्वाइसको नियमित अन्तरवार्ताको श्रृंखला ‘विजनेश भ्वाइस’ मा हामी निजी क्षेत्रका व्यक्तिहरुको आवाज पस्कने गरेका छौँ । काठमाडौं उपत्यकाभित्रका मात्रै नभएर देशैभरीका उद्योगी व्यवसायीहरुको आवाज सिंहदरबारसम्म पुगोस भनेर हामीले यो श्रृंखला सुरु गरेका हौँ । विजनेश भ्वाइसको यो श्रृंखलामा यसपटक हामीले ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केसँगको कुराकानी प्रस्तुत गर्दैछौँ । प्रस्तुत छ, केटिएम भ्वाइसकी नमिता अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

ओखलढुंगाको व्यापार व्यवसायको अवस्था कस्तो छ ?

ओखलढुंगामा मात्रै होइन, देशभरी व्यापार व्यवसाय अहिले निकै न्यून छ । मन्दीका कारण जग्गा जमिन बिक्रीमा छैनन् । विकास गति कम छ र बजार पनि चलायमान छैन । बजार चलायमान भए व्यापार व्यवसाय बढ्ने थियो, तर अहिले अवस्था निकै कम छ ।

जेनजी आन्दोलनको असर तपाईहरुकोतिर कत्तिको परेको छ ? व्यवसायीहरुको मनोबल घट्ने वा बढ्ने अवस्था के छ ?

ओखलढुंगामा जेनजी आन्दोलनको असरले मनोबल घट्ने कुनै ठूलो असर परेको छैन । यहाँको अवस्था सामान्यै छ । देशभर अलिकति असर परेको भए पनि, हाम्रो ओखलढुंगा त्यसबाट खासै प्रभावित भएको छैन । जसले गर्दा यहाँका मानिसहरू शान्ति र सामान्य जीवनको रेखामा अझै अघि बढ्न सकिरहेका छन् । यसबाट देखिन्छ कि ओखलढुंगा आफैंमा स्थिर र सकारात्मक ऊर्जा राख्ने ठाउँ हो ।

कुनै बेला बैंकको ब्याज महंगो भएर व्यापार गर्न सकिएन भन्ने सुनिन्थ्यो, अहिले व्यवसायीहरुको चुनौतीहरु केकस्ता छन् ?

समस्या त छ नै, तर समाधानका अवसरहरू पनि छन् । बैंकको ब्याजदर घटे पनि बजार चलायमान नभए व्यापार व्यवसाय बढ्न सकेको छैन । ब्याज कम भए पनि व्यापार अघि बढेन भने त्यसको असर पर्छ । यही कारणले व्यवसायमा चुनौतीहरू देखिन्छन् । तर यदि आर्थीक अवस्था सुधारियोस्, घरजग्गा बिक्री भयो र विकासका काम अघि बढे भने रोजगारका अवसरहरू बढ्नेछन् । व्यापार व्यवसाय फेरि फुल्नेछ । सम्भावना सधैं छ, र सही कदम चाल्दा ओखलढुंगा र देशकै आर्थिक जीवन फेरि उत्साहपूर्ण बन्नेछ ।

तपाईहरुको संघ त उद्योग वाणिज्य महासंघमा पनि आवद्ध सघं हो, काठमाडौंतिरबाट कत्तिको सहयोग पाउनु हुन्छ ?

महासंघमा पनि आबद्ध छौं, प्रदेशस्तरमा पनि हामीको सहभागिता छ । चुनौतीको बेला पिर परे हामीसँग सहकार्य गर्ने सहकर्मीहरू पक्कै छन् । आर्थिक दृष्टिले ठूलो सहयोग त पाइँदैन तर ओखलढुंगाको उद्योग वाणिज्य संघ हाम्रो व्यवसायिक समुदायको साथ र सद्भावको प्रतीक हो । हामीलाई यहाँ आम्दानी धेरै नभए पनि, यो संघ हाम्रो लागि सधैं प्रेरणा र सहयोगको स्रोत नै रहन्छ ।

यो वर्ष त महासघंको चुनावी वर्ष पनि हो जस्तो लाग्छ, भोट मागिहाल्ने कुरा केहि छ कि ?

चुनावमा महासंघमा कसलाई योग्य ठानिन्छ, जिल्लामा कसले नेतृत्व गर्नेछ, नगरस्तरमा कसले काम गर्नेछ । यी कुरा स्पष्ट हुन्छन् । योग्यतावानलाई अवसर दिनु नै मूल उद्देश्य हो । भोट माग्ने प्रक्रिया भइ हाल्छ, र त्यसैक्रममा केन्द्रका सदस्यदेखि लिएर जिल्ला र नगरको उपाध्यक्षसम्म चयन हुन्छन् ।

अन्तमा नेपाली उद्योग व्यवसायको सन्दर्भमा कुरा गर्दा भन्नु पर्ने कुरा केहि छ कि ?

नेपाली उद्योग र व्यवसायहरू हाम्रो पहिचान हुन् । यहाँ उत्पादन हुने अर्गानिक तरकारी, फलफूल र महिला उद्यमीहरूले संचालन गर्ने साना उद्योगहरूले हाम्रो अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छन् । यदि यी व्यवसायहरूलाई राम्रो बजार व्यवस्थापन र प्रभावकारी प्रवद्र्धनका अवसरहरू मिल्यो भने, तिनीहरूले मात्र आम्दानी बढाउने नभई समुदायलाई पनि सशक्त बनाउन सक्छन् । यसरी हाम्रो उत्पादन र उद्यमशीलता एकसाथ समृद्धि र आत्मनिर्भरतालाई बलियो बनाउने महत्वपूर्ण साधन बन्न सक्छ ।