७ बीमा कम्पनीले मर्जरका लागि गरे एमओयु
वि.सं.२०७९ असार २१ मंगलवार १४:३१
shares
काठमाडौं, २१ असार । र्मजरमा जानका लागि ७ वटा बीमा कम्पनीले एमओयु गरेका छन् । जसमा ५ जीवन बीमा कम्पनी र २ निर्जीवन बीमा कम्पनीले एमओयु गरेर बीमा समितिमा बुझाएका हुन् ।
बीमा समितिले पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई आग्रह गरे अनुसार अहिले बीमा कम्पनीहरु मर्जरका लागि प्रक्रिया जारी राखेका छन् । कम्पनीहरुले मर्जरको लागि छलफल गरिरहेको एमओयु गरेर जानकारी दिनेको संख्या ७ वटा मात्रै रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
नेपालमा जीवन बीमा कम्पनी १९ वटा र निर्जीवन बीमा कम्पनीको संख्या २० रहेको छ । त्यसमध्ये जीवन बीमा कम्पनीमा ज्योती र सूर्या, युनियन, प्राइम र गुराँस तथा निर्जीवन बीमा तर्फ एभरेष्ट र हिमालयनको एमओयु भएको बीमा समितका कार्यकारी निर्देशक पौडेलले बताए ।
बीमा समितिले असार भित्र मर्जरमा जाने कम्पनीहरुले बीमा समितिलाई जानकारी गराउनका लागि भनिसकेको छ । बिमा समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब पुँजी पुर्याउन भनेको छ । पुँजी वृद्धिका लागि समितिले मर्जरलाई पहिलो प्राथमिकतामा राखेको छ ।
एमओयु गरेर मात्रै बीमा समितिमा जानकारी आउँछ । अन्य कम्पनीहरु पनि मर्जरको प्रक्रियामा होलान् तर जानकारी भने आएको छैन् ।