सरकारले दिने अनुदान रोकिएको भन्दै बीमा कम्पनीले रोके कृषि बीमा भुक्तानी

वि.सं.२०८० जेठ २ मंगलवार ०७:२२
shares

काठमाडौं, १ जेठ । निर्जीवन बीमा कम्पनीले कृषि बीमाको भुक्तानी कार्य रोक्ने भएका छन् । बीमक संघले सरकारले दिने अनुदानको रकम नपाएको भन्दै जेठ ७ गतेदेखि बीमा पोलिसी जारी गर्ने र बीमा भुक्तानी कार्य रोक्ने निर्णय गरेको हो ।
निर्जीवन बीमा कम्पनीहरुको छाता संगठनले विज्ञप्ति जारी गरेर अनुदानको रकम रोकिएकाले बीमा दाबी भुक्तानी रोक्ने निर्णय गरेको हो । संघले १४ बीमा कम्पनीको कूल २ अर्ब ९४ करोड ४५ लाख ८१ हजार रुपैयाँ कृषि बीमा शुल्क रोकिएको भन्दै कृषि तथा पशुंक्षी बीमा सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको जनाएको छ । संघले बीमा शुल्क भुक्तानी नपाएसम्म नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्य स्थगित गर्न बाध्य भएको जनाएको छ ।
संघले २०७७ सालदेखिको कृषि तथा पशुपंक्षी बीमाको रकम प्राप्त हुन नसकेको जनाएको छ । विवरण अनुसार माछा बीमाको अनुदान २०७७ सालदेखिको बक्यौता रहेको छ भने बाली बीमाको अनुदान रकम २०७८ साल असोजदेखि बक्यौता रहेको छ । त्यस्तै पशुपंक्षी बीमाको अनुदान बापतको रकम २०७८ साल असोजदेखि बक्यौता रहेको छ ।
सरकारले कृषि बीमामा यसअघि ५० प्रतिशत अनुदान रहेको थियो भने गत आव र चालु आवमा ८० प्रतिशत कृषि बीमामा अनुदान दिइएको छ । सो अनुदान बापतको रकम उपलब्ध गराउन पटक पटक नेपाल बीमा प्राधिकरण, कृषि मन्त्रालय, कृषि विभागमा ताकेता गर्दा पनि वेवास्ता गरिएकोले बाध्य भएर बीमा पोलिसी रोक्नु परेको संघको जारी गरेको विज्ञप्तिमा भनिएको छ ।