GBIME
Machhapuchhre

सरेण्डरको रेसियो बढेपछि बीमा क्षेत्रमा समस्या थपिएको छ

762
shares
NCHL Banner

काठमाडौं, ७ कात्तिक । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि परेको छ । गार्डियन माइक्रो इस्योरेन्सका सिईओ चिरायु भण्डारी ‘सरेण्डर’ लाई बीमा क्षेत्रको पछिल्लो चुनौतीका रुपमा लिन्छन् । बीमा गर्नेहरुले नियमित किस्ता तिर्न नसक्नुलाई सरेण्डर भनिन्छ । बीमा गर्नेहरु सकेसम्म त नियमित किस्ता तिरेर आफ्नो बिमा सुरक्षित राख्न चाहन्छन् । यदि उपाय नै भएन भने सरेण्डर गर्नुको विकल्प हुन्न । भदौसम्मको तथ्यले सरेण्डरको रेसियो बढेको धारणा राखे सिइओ भण्डारीले । ‘गत भदौसम्मको डाटा हेर्दा सरेण्डरको रेसियो अलि बढी भएको देखियो ।’ उनले भने ।

एकातिर सरेण्डर बढ्नु अर्को तिर नयाँ व्यक्तिले बीमा गर्न नचाहनु भनेको बीमा क्षेत्रमा आर्थिक संकट देखिनु हो भन्ने लाग्छ उनलाई । बिमामा बिजनेश घट्नुको मुख्य कारण आर्थिक संकट नै हो भन्छन् सीईओ भण्डारी ‘अहिले देखिएको समस्या त आर्थिक संकटकै कारण हो । तर, आत्तिइहाल्नु पर्ने स्थिती छैन । फेरि लयमा आउँछ ।’ आर्थिक गतिविधीमा सुधार आएपछि बीमा क्षेत्र चलायमान हुने उनको भनाई छ ।

आर्थिक समस्या त हो नै बीमा गर्नुपर्छ भन्ने मान्यताको विकास नहुँदा पनि सोचे अनुरुप हुन नसकेको उनको भनाई छ । ‘हाम्रोमा बीमा गर्दा फाइदा हुन्छ भन्नेमा सर्वसाधारण अझै सचेत भैसकेका छैनन् त्यसकारण पनि हुनु पर्ने जति भएको छैन ।’ आम साक्षरताको अभावमा बीमा साक्षरताको अभाव भएको कुरा गरे ।

बीमालाई बृहत बनाउँन अब विद्यालय तहमै बीमा सम्बन्धि पाठ्यसामग्री समावेश गर्नु पर्ने धारणा राख्छन् । ‘अहिले पनि धेरै मान्छेले एजेन्टहरुको करकाप र सुझाबमै बीमा गरिरहनु भएको छ । बीमा गर्नुपर्छ भन्ने कन्सेप्टको अझै विकास भएको छैन ।’ उनले भने ।

नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंकहरुले वित्तिय साक्षरतालाई जोड दिए जस्तै बीमा कम्पनीहरुले पनि बीमा साक्षरता कार्यक्रमलाई विशेष जोड दिएर अगाडी बढाउनु पर्ने सिइओ भण्डारीको भनाई छ । उनी आशावादी पनि छन् हुन्छ भन्नेमा । ‘बीमा साक्षरता कार्यक्रम पनि अब सुरु गर्नुपर्छ । आम सर्वसाधारणलाई साक्षर बनाउने काम भएरै छाड्छ ।’ उनले भने ।