के हो मोटर बीमा ?

वि.सं.२०८१ जेठ २५ शुक्रवार ०६:००
shares

काठमाडौं, २५ जेठ । सहज र छिटोका लागि दैनिक रुपमा सवारीको प्रयोग जति उपयुक्त छ यसको जोखिम पनि त्यति नै रहेको हुन्छ । त्यसैले सवारी खरिद गरेर मात्रै पुग्दैन । त्यसको साथ साथै सुरक्षाका लागि बीमा पनि आवश्यक छ ।
यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।
मोटर बीमाका प्रकार
मोटर बिमा विभिन्न प्रकारका छन् । जसमध्ये केहीलाई सरकारले अनिवार्य नै गरेको छ । भने केही सवारी धनीले आफ्नो आवश्यकअनुसार बीमा खरिद गर्न सक्छन् ।
तेस्रो पक्ष बीमा : अनिवार्य बीमा
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु तेस्रो पक्ष बीमा हो । यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ ।
यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन । तेस्रो पक्ष बिमाबापत दुर्घटना भएको अवस्थामा पीडित पक्षले सजिलै भुक्तानी पाउँछन् । सवारी धनीले पनि आर्थिक समस्याबाट छुट्कारा पाउँछ ।
प्याकेज बीमा
दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बीमाको योजनालाई प्याकेज बीमा भनिन्छ । यस योजनाले तेस्रो पक्ष बीमा र आफ्नो मोटरको क्षतिलाई बेहोर्छ । जस्तै, सवारी साधन चोरी भएको अवस्थामा, बाढी पैरोमा परी क्षति भएमा, भूकम्पले क्षति पुगेमा, पार्किङमा राखेको अवस्थामा टुटफुट भएमा समेत यो योजनाले जोखिम बहन गर्छ । यसका साथै थप बीमा शुल्क तिरी हुलदंगा समेतको जोखिमसमेत कभर गर्न सकिन्छ । यसले आन्दोलन अथवा हुलदंगाका कारण मोटरमा क्षति पुगेमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्छ ।
यसै योजनाभित्र थप शुल्क तिरी सवारी चालक तथा अन्य कर्मचारीको बीमा, यात्रुपक्ष बीमासमेत गर्न सकिन्छ । सवारी चालक तथा अन्य कर्मचारी बीमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा बेहोर्नुपर्ने आर्थिक जोखिम बहन गर्छ । यात्रु बीमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा बेहोर्नु पर्ने दायित्वबाट जोगाउँछ ।