रुस र युक्रेनको द्वन्द्वको प्रभाव : तेलको आयात ६८ प्रतिशतले कमी
वि.सं.२०७९ वैशाख १३ मंगलवार १५:१५
shares
काठमाडौं, १३ वैशाख । रुस र युक्रेनबीच द्वन्द्व चलेको २ महिना भइसक्यो। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले आपत्ति जनाएर हमला गरेको द्वन्द्व हालसम्म पनि कायमै छ ।
रुस र युक्रेनबीचको द्वन्द्वले गर्दा विश्वव्यापीरुपमा आर्थिक तथा व्यापारिक क्षेत्रमा ठूलो असर पारेको छ । द्वन्द्वले गर्दा विश्वव्यापीरुपमै वस्तु तथा सेवाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
द्वन्द्व शुरु भएको केही हप्तामा डलरको भाउ, सुनको मूल्यलगायत पेट्रोलियम पदार्थको मूल्यले इतिहास कायम गरेको छ । साथै, दुई देशबीचको द्धन्द्वले गर्दा विश्वव्यापीरुपमा मूल्यवृद्धि भएको छ ।
रुस र युक्रेनबीचको द्वन्द्वले नेपालमा पनि पूर्णरुपमा असर गरेको छ । यी दुई देशबीचको द्धन्द्वले पेट्रोलियम पदार्थको मूल्य र भान्सामा प्रयोग हुने तेलको मूल्यले इतिहास कायम गरेको छ ।
द्वन्द्व चलिरहेको रुस र युक्रेनबीच नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले रुसबाट ५ अर्ब १६ करोड ८ लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट १५ करोड ५२ लाख रुपैयाँको निर्यात गरेको छ ।
त्यस्तै, ९ महिनाको अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा नेपालबाट भने १९ लाख रुपैयाँको मात्रै निर्यात गरेको सरकारी तथ्याङ्क छ ।
आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर देखिए पनि यी दुई देशबाट नेपालले अत्यवश्यक वस्तु आयात गर्ने गरेको छ ।
उक्त दुई देशबाट नेपालले भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल आयात गर्दै आएको छ । विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने युक्रेन र रुसबाट नेपालले उच्चरुपमा तेल आयात गर्ने गरेको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।
त्यसैगरी, २ महिनादेखि निरन्तर चलिआएको द्वन्द्वले हालसम्मकै न्यून तेल आयात भएको छ । यी दुई देशबाट मात्रै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ बराबरको १० करोड १६ लाख ४ हजार लिटर भटमास र सनफ्लावर तेलको कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
तर, दुई देशबीचको द्वन्द्वले हालसम्मकै कम तेल आयात भएको छ । मासिक १ करोड लिटरभन्दा बढी तेल आयात हुँदै आएकोमा चैत महिनामा भने ५७ लाख लिटरमा सीमित भएको छ ।
चैत महिनामा युक्रेन र रसियाबाट भटमास र तोरी तेलको कच्चा पदार्थ ९४ करोड १८ लाख रुपैयाँ बराबरको ५७ लाख ५६ हजार लिटर आयात गरेको छ । जुन फागुन महिनाको तुलनामा ६८।३७ प्रतिशतले कमी हो ।
फागुनमा महिनामा सो देशबाट ३ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख ९९ हजार तेल आयात गरेको थियो । साथै, माघमा २ अर्ब ४६ करोड ७८ लाख रुपैयाँको १ करोड ४४ लाख २३ हजार लिटर, पुसमा १ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ४२ हजार लिटर तेल आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ