‘प्रिमियममा आईपीओ जारी गर्नु ५० लाख डिम्याट खातावालाप्रति गरिने बेइमानी हो’

35.37K
shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई इजाजत दिँदा कारोबार सञ्चालनको ३ वर्षभित्र सर्वसाधारणलाई शेयर निष्काशन गरि सक्नुपर्ने शर्त राखेको हुन्छ । धितोपत्र बोर्डले साधारण सभाबाट १२ महिनाको वित्तीय विवरण पास भएर पेश गरे पछि शेयर निष्काशन प्रकृया प्रारम्भ गर्ने गर्छ ।

बीमा समितिले भने नयाँ इजाजत दिदा सर्वसाधारणलाई ३० प्रतिशत शेयर निष्काशन गर्नुपर्ने शर्त राखेता पनि निष्काशन गर्नुपर्ने अवधि तोकेको हुँदैन । यहीँ कुराको फाईदा उठाएर जीवन बीमातर्फ पाँच वटा कम्पनीले अहिले सम्म पनि सर्वसाधारणलाई शेयर निष्काशन गरेका छैनन् ।

आर्थिक वर्ष २०७४/०७५ मा इजाजत पाउने चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ र आइएमई लाईफ इन्स्यारेन्स तथा २०७५/७६ मा इजाजत पाउने कम्पनी महालक्ष्मी लाईफले शेयर निष्काशनतर्फ अहिले सम्म कुनै सुर–सार गरेका छैनन् ।

सँगै १० वटा इजाजत पाएका मध्ये पाँच वटाले आईपीओ निष्काशन गरि सके । तर, बाँकी यी पाँच वटा कम्पनीले किन शेयर निष्काशन गरेका छैनन् ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत रहेर कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग केटिएम भ्वाइसका लागि रमेश पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

महालक्ष्मी लाईफले कहिलेबाट कारोबार प्रारम्भ गरेको हो ?

बीमा समितिबाट २०७५ माघ १ मा इजाजत प्राप्त गरी माघ २७ बाट कारोबार प्रारम्भ गरेको हो ।

कारोबार संचालन गरेको ३ वर्ष नाघिसकेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गर्नु भएको छैन, किन ?

अरु कम्पनी र जीवन बीमाका अलि फरक छ । विमांकिय मूल्याङ्कनको कारण ढीला हुने रैछ । हामिले २०७८ माघमा २०७६/७७ को साधारण सभा सम्पन्न गरी १२ महिनाको वित्तीय विवरण पेश गर्ने गरी सर्वसाधारणलाई ३० प्रतिशत शेयर निष्काशनको प्रकृयामा गैसकेका छौँ ।

पुँजी वृद्धिको लागि फेरी विशेष साधारण सभा बोलाउनु भएको छ, शेयर निष्काशन कसरी हुन्छ ?

हामिले २०७८ माघ २७ मा साधारण सभा गरी मिति २०७८÷११÷०२ मा सानिमा क्यापिटल संग शेयर निष्काशनको संम्झौता पनि गरि आषाढ भित्र सूचना प्रकाशन गर्ने गरी प्रकृया चालिसकेका थियौ । तर यसै वीच २०७८ चैत्र १० गते रु. २०० करोडबाट रु.५०० करोड पुँजी बृद्धि गर्ने निर्देशन बीमा समितिबाट आएको छ ।

त्यसैले गर्दा शेयर निष्काशन अगाडी पुँजी बृद्धि अधिकृत पुँजी ५०० करोड र जारी पुँजी ३०० करोड गर्ने र ६० करोडको सट्टा ९० करोडको शेयर सर्वसाधारणलाई निष्काशन गर्ने संसोधित प्रस्ताव पनि विशेष साधारण सभामा लगि सकेका छौँ । यो भनेको छिट्टै शेयर निष्काशन प्रकृयामा गएको हो ।

तपाईहरु पाँचै वटा जीवन बीमा कम्पनी प्रिमियममा शेयर निष्काशनको लागि चलखेल गरिरहेकोले ढिलो भएको हो भन्ने पनि सुनिन्छ नि, वास्तविकता चाहि के हो ?

कम्पनी ऐनमा ३ वर्ष लगातार मुनाफामा गएको पब्लिक कम्पनीले नेटवर्थको दोब्बर सम्म हुने गरी प्रिमियममा शेयर निष्काशन गर्न सक्ने प्राबधान छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा स्पष्ट रुपमा सर्वसाधारणलाई शेयर निष्काशन गर्दा फेस भ्यालु अर्थात रु. १०० मै गर्नु पर्ने व्यवस्था छ ।

बीमा समितिको कुनै पनि नीति तथा निर्देशनमा निष्काशन गर्ने शेयर मूल्य विषयमा केही उल्लेख छैन । त्यसैले ऐनले दिएको सुविधा र बीमा समितिको निर्देशनमा मौनताको फाइदा लिँदै केही जीवन बीमा कम्पनीहरु प्रिमियममा शेयर निष्काशन गर्ने बाटोमा लागेको चाहीँ पक्कै हो ।

सर्वसाधारणको शेयर रहेको संस्था बैंक तथा वित्तीय संस्थाले रु. १०० मै शेयर जारी गर्ने, तपाईका १० वटा कम्पनी मध्ये पाँच सहकर्मी कम्पनीले पनि रु. १०० मै शेयर जारी गरि सके । अनि बाँकी पाँच वटाले प्रिमियममा जारी गर्नु उचित हुन्छ ?

प्रिमियममा शेयर निष्काशन गर्ने विषय स्पष्ट भै सकेको छैन । सर्वसाधारणको निक्षेप वा प्रिमियम लिएर मुनाफा कमाउने अनि त्यही सर्वसाधारणलाई प्रिमियममा शेयर निष्काशन गर्नु हुँदैन भन्ने मान्यताको मान्छे म पनि हुँ ।

एउटै जीवन बीमा कम्पनी समूहमा फरक फरक कम्पनीले फरक फरक दररेटमा सर्वसाधारणलाई शेयर निष्काशन गर्नु गलत हो ।

यसले आम मानिसमा गलत सन्देश जान्छ भन्ने मेरो पनि बुझाई हो । ऐन कानूनले दिएको अधिकार उपभोग गर्न केही जीवन बीमा कम्पनीका मित्रहरु लागिरहनु भएको छ , त्यस विषयमा प्रतिस्पर्धि कम्पनी भएर मैले कमेन्ट गर्नु चाही उचित हुँदैन ।

सर्वसाधारणलाई शेयर निष्काशनमा महालक्ष्मी लाईफ इन्स्योरेन्स अझ भनौं तपाईले चाहि के गर्ने सोचमा हुनुहुन्छ ?

एउटै बीमा उद्योगमा केही कम्पनीले फेस भ्यालु रु. १०० मा सर्वसाधारणलाई शेयर निष्काशन गर्ने र बाँकी रहेका जीवन बीमा कम्पनीले नेटवर्थको दोब्बर सम्म प्रिमियममा शेयर विक्रि गर्नु भनेको १० कित्ता भए पनि शेयर पार्ने आशमा बसेका ५० लाख डिम्याट खातावालाहरु संग गरिने बेइमानी हो, उनीहरुको शोषण हो भन्ने मेरो बुझाई छ ।

हामीले प्रिमियममा शेयर निष्काशन गर्न अहिले सम्म कुनै प्रकृया नचालेको जानकारी गराउन चाहन्छु ।

चारवटा जीवन बीमा कम्पनीले प्रिमियममा शेयर निष्काशन अनुमति पाएमा तपाई के गर्नु हुन्छ ?

सर्वसाधारणको निक्षेपबाट मूनाफा आर्जन गर्ने कम्पनी भएकोले बैंक वित्तीय संस्थाले फेस भ्यालुमा शेयर निष्काशन गरे झै जीवन बीमा कम्पनीहरुले पनि फेस भ्यालु मै निष्काशन गर्नु पर्छ, प्रिमियममा विक्रि गर्न मिल्दैन ।

अन्य उद्योग व्यवसायमा उदाहरणको लागि सर्वोत्तम सिमेन्ट जस्तो कम्पनीमा सर्वसाधारणको निक्षेप नहुने हुँदा लाभांश बाँडिसकेर बुक विल्डिङ वा प्रिमियममा निष्काशन गर्नु नराम्रो हैन । शेयर निष्काशन गर्न बाँकी पाँच मध्ये चार कम्पनीले प्रिमियममा निष्काशन गरि सके पछि पाचौँ र अन्तिम कम्पनी हामी निश्चित रुपमा दवाब र अप्ठ्यारोमा पर्छौँ ।

मेरो मात्र सोचले काम गर्दैन, संचालक समितिले चाहे अनुसार गर्नु पर्ने हुन्छ। तर बीमा समितिको पुँजी बृद्धि निर्देशन र संस्थापक शेयर लगानी भएकै अवस्थामा मर्जरमा गएमा यो अपठेरो अवस्थाको सामना गर्नु नपर्ने पनि हुन सक्छ।