GBIME

‘महासंघको नेतृत्वसामू चुनौति नै चुनौतिको पहाड छ’

1.7K
shares

काठमाडौं, १८ माघ । पछिल्लो समय देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ । केही समय अघिसम्म नेपाल श्रीलंकाको अवस्थामा पुग्छ भन्ने चर्चा पनि भयो । अहिले अर्थचन्त्रका सूचकहरुका केही सहजता भएको देख्न सकिन्छ ।

देशको अर्थतन्त्रको मरुदण्डका रुपमा रहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मिति नजिकिदै छ । आगामी नेतृत्वको चुनौति र व्यवसायीका समस्यामा केन्द्रित रहेका नेपाल कुरियर सेवा संघका निर्वतमान अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य गोविन्द ढुङ्गेलसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

तपाई कुरियर व्यवसायी संघको निर्वतमान अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ महासंघको मुख्य चुनौति के देख्नु हुन्छ ?
महासंघ भनेको सबै व्यवसायीहरुको साझा र छाता संगठन हो । महासंघमा सबै क्षेत्रका व्यवसायीहरको प्रतिनिधित्व हुन्छ । सबैलाई आफ्नो समस्या ठूलो लाग्नु स्वभाविक नै हो । सबैलाई महासंघले आफ्ना समस्या समाधानका लागि पहल गरिदियोस् भन्ने चाहाना राख्नु हुन्छ । त्यो स्वाभाविक पनि हो । तर सबैका समस्या समाधान गर्नका लागि सम्भव नहुँदो रहेछ ।

महासंको चुनौति नै यही हो । सबै समस्या समाधानको अपेक्षा व्यवसायीको हुने तर काम गर्दै जाँदा कुनै समस्या समाधान हुन नसक्नु महासंघका लागि निकै चुनौतिका रुपमा देखिएको छ । अर्को तर्फ अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको मनमुटावका कारण पनि व्यवसायी समस्यामा परेका छन् । ती समस्या समाधानका लागि पनि महासंघले काम गर्नु पर्ने चुनौति देखिन्छ ।

महासंघले व्यवसायीका समस्या समाधानका लागि निरन्तर काम गरिरहेको नै छ । तर सोचेजस्तो काम हुन नसकेको कुरालाई हामीले स्वीकार्नु पर्छ । सिमित स्रोत र साधानका कारण सबै समस्या समाधान गर्नका लागि सम्भव हुदैन । अर्को तर्फ अहिलेको महासंघको कार्यकालमा कोभिड तथा तरलता अभावका कारण पनि समस्या भइरहेको छ । बाहिरबाट भन्नु र संस्थामा गएर काम गर्नु निकै फरक हुने अनुभव मैले गरेँ ।

अब महासंघको चुनाव पनि आउँदै छ तपाई महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ अबको तयारी के छ ?
महासंघको चुनावको सरगर्मी बढीसकेको अवस्था छ । महासंघको नेतृत्वमा दावी गर्नेहरुले आफ्नो तयारी पनि थालिसकेका छन् । तर मेरो हकमा महासंघमा गएर काम गरिसकेको अवस्थामा अहिले उम्मेदवारीका विषयमा भने कुनै निर्णय गरेको छैन ।

महासंघको चुनावमा उम्मेदावर नभए पनि म महासंघमा कँही न कँही हुन्छु । महासंघको आगामी नेतृत्वका लागि अध्यक्षमा कुनै समस्या भएन । मुख्य गरि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष लगायत पदहरुमा आकाक्षीहरुले दावी गरिहेको अवस्था छ । साथीहरुको तयारीले चुनावको माहोल बढाएको छ ।

महासंघको अहिलेको नेतृत्वले केहि पनि गर्न सकने भन्ने आरोप छ नि के साच्चै महासंघले केही गर्न नसकेको हो ?
महासंघले धेरै गरेको छ । व्यवसायीका समस्या समाधानका लागि निरन्तर पहल गर्ने काम महासंघले गरिरहेको छ । तर सोचेजस्तो काम गर्नका लागि नसकेको होला तर केही गरेन भन्न मिल्दैन । अर्कोलाई गालि गर्न सहज छ तर त्यहाँ गएर काम गर्नु निकै फरक हुन्छ ।
मानिसका आवश्यकता असिमित हुने भएकाले सबै आवश्यकता वा समस्या समाधान नभएका होलान तर महासंघले काम नै नगरेको भन्ने कुरामा कुनै सत्यता छैन् । अर्को तर्फ सबै समस्या समाधान गर्न सम्भव हुने कुरा पनि भएन । काम गर्दै जाँदा यस्ता समस्याको सामना गर्नु नै पर्छ ।
सिमित स्रोत साधानले असिमित इच्छा पुरा गर्नु पर्दा सबैका समस्या समाधान नभएका पनि होलान ।

महासंघको आगामी नेतृत्व सामु मुख्य चुनौति के देख्नु हुन्छ ?
महांघका अघि धेरै चुनौति रहेका छन् । तत्कालको सबैभन्दा ठूलो चुनौति भनेको बढेको बैंकको ब्याजदर घटाउने तर्फ पहल गर्नु नै हो । अर्कोतर्फ महासंघको पहिलेको साख फर्काउनु पनि आगामी नेतृत्वको चुनौति नै हुने देखिन्छ । सरकारले पनि महासंघसँग कुरा गर्दा निकै विचार पु¥याएर गर्ने गरेको विगत थियो । त्यो विगतको साखमा कमी आएको महसुश भइरहेको छ । त्यसलाई जोगाउनु पर्ने आवश्यकता रहेको छ ।

त्यसका अलावा राज्यले व्यवसायीलाई दिने विभिन्न किसिमका दुःख, कर, निर्यात तथा आयातका क्षेत्रमा देखिएका समस्या समाधान गर्नु पर्ने चुनौति पनि महासंघको आगामी नेतृत्वका अगाडि रहेको छ । अर्कोतर्फ सानादेखि ठूला व्यवसायीहरुका समस्या समाधानका लागि पनि काम गर्नु पर्ने आवश्यकता रहेको छ । त्यस्तै कृषि क्षेत्रका लागि मल विउको पनि समस्या रहेको छ । किसानका समस्या समाधानका लागि पनि महासंले सरकारसँग पहल गुर्न सक्नु पर्छ ।
सरकारले दिने सहुलियत सहज र सजिलो रुपमा व्यवसायीर किसानले पाउने वातावरण निमार्णका लागि महासंघले काम गर्नु पर्छ ।

पछिल्लो समय कुरियर व्यवसायको अवस्था कस्तो छ ?
कुरियर क्षेत्रमा तीन किसिमका व्यवसायी छन् । स्वदेशमा मात्रै एक ठाउँबाट अर्को ठाउँमा सामान पठाउने काम गर्ने डोमेस्टीक व्यवसाय, अर्को भारतमा मात्रै सामान पठाउने र तेस्रो भनेको भारत बाहेक तेस्रो मुलुकमा सामान पठाउने काम गर्ने व्यवसायी अहिले कुरियर व्यवसायका लागि अफ सिजन हो । यो अवस्थामा पनि अन्तराष्ट्रिय र डोमेस्टिक क्षेत्रको कुरियर सेवा सामान्य रुपमा सञ्चालन भइरहेको छ । तर भारतमा हुने कुरियर सेवा भने बन्द भइसकेको अवस्था छ । विभिन्न कारणले भारतमा हुने कुरियर सेवा बन्द भएको अवस्था हो ।

कुरियरको माध्यमबाट भारतबाट सामान नआउने र नेपालबाट पनि कम मात्रै जाने भएकाले त्यहाँको सेवा बन्द अवस्थामा छ । अर्को तर्फ भारतमा सामान पठाउनका लागि झन्झट पनि रहेको छ । त्यो बाहेक अन्य सेवा सामान्य रुपमा नै चलिरहेको छ ।

अहिलेको अवस्था भनेको तीन किसिमको छ । एक आन्तरिक, अर्को भारत र अर्को तेस्रो मुलुकमा गरिने गरिएको छ । विभिन्न कारणले भारतसँग हुने कुरियर सेवा बन्द नै भइसकेको अवस्था छ । आन्तरिक र अन्तराष्ट्रिय सेवा भने सामान्य रुपमा चलिरहेको छ ।

पछिल्लो समय कुरियर गर्ने प्रचलन बढेको अवस्था छ यसले व्यवसायमा लाग्नेहरु पनि बढेका होला नि ?
आम नेपालीमा सेवा पु¥याएको र विश्वासका कारण व्यवसायमा लाग्नेहरु उत्साहीत रहेका छन् । हिजो हुलाक सेवाबाट सुरु भएको यो व्यवसायमा अहिले निकै धेरै व्यवसायीहरु संलग्न रहेको अवस्था छ । छिटो छरितो र भरपर्दा रुपमा सामान एक ठाउँबाट अर्को ठाउँमा पठाउने भएकाले पनि जनमानसमा कुरियर प्रतिको विश्वास बढेको देखिन्छ ।

सुरुमा सार्वजनिक सवारीमा नै सामान एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरिएको भए पनि अहिले पनि व्यवसायीहरुले आफ्नै सवारी साधन खरिद गरेर सेवा प्रवाह गरिहेको अवस्था छ । यो हेर्दा व्यवसाय फस्टाएको नै भन्नु पर्छ । यसले सेवा अझ छिटो र छरितो तथा भरपर्दा पनि बन्दै गएको छ ।

कुरियर व्यवसायमा के–के समस्या रहेका छन् ?
कुनै पनि काम गर्दा त्यसको सकारात्मक पक्षसँग नकारात्मक पक्ष पनि हुन्छ । जनु हाम्रो व्यवसायमा पनि छ । केही समय एउटा कुरियर कम्पनीमा काम गरेपछि आफैले खोल्ने र उपभोक्तालाई ठग्नेहरु पनि छन् । यसका लागि हामीलाई नियमन गर्ने निकायको जरुरत रहेको छ ।
कुरियर व्यवसायीका लागि सरकारले कुनै पनि नीति नियम बनाएको छैन । जसका कारण एउटा टेवल राखेर व्यवसाय गर्ने र फरार हुने क्रम पनि बढेको छ । यसलाई रोक्नका लागि सरकारले नीति नियम बनाउनु पर्ने अवश्यकता देखिन्छ । कुरियर सेवालाई कुन निकाय राख्ने भन्ने विषयमा पनि द्धिविधा देखिन्छ । सरकारले तिमिहरु सञ्चार मन्त्रालय अन्तर्गत रहेका छौ भन्छ । तर यसको नियमावली भने छैन ।

हामी कुन निकायमा हो भन्ने विषयमा कोभिडको समयमा निकै ठूलो समस्या भयो । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखिदियो । सञ्चार मन्त्रालयले पास नदिने, उद्योग मन्त्रालयमा जाँदा तिमिहरु उद्योगमा पर्दैनौँ भन्दा निकै समस्या भयो । पछि निरन्तर पहल गरेर समस्या समाधान गरियो ।

कुरियर सेवालाई व्यवस्थित बनाएर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको छ । जसले यो क्षेत्रमा देखिएका बिकृति विसंगति पनि समाधान हुने थिए । कुरियर सेवालाई पनि निश्चित मापदण्ड बनाएर व्यवस्थित बनाउनु राज्यको दायित्व हुन आउछ ।

कोभिड र अहिलेको समयमा के फरक छ ?
कुरियर सेवाका लागि कोभिडको समयमा खासै समस्या थिएन । पास पाउनका लागि केही समस्या भए पनि त्यसका लागि पहल गरेर सेवा प्रवाह गरिएको थियो । तर अहिले बजारमा देखिएको तरलता अभाव र बैंकको बढेको ब्याजदरले व्यवसायीलाई निकै अप्ठ्यारो पारेको छ ।
बैंकको बढेको ब्याजदरका कारण व्यवसायी धराशायी हुने अवस्था देखिएको छ । बैंकबाट ऋण लिएर व्यवसाय गर्ने वातावरण नै छैन । अहिले काम गर्नका लागि सहज वातावरण नै छैन् । यी विषयमा नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गरिरहेको छ ।
तत्कालै बैंकको ब्याजदर घटाएर निश्चित बनाएको खण्डमा व्यवसायीहरुलाई सहज हुन्छ ।

अहिलेको मुख्य समस्या भनेको बढेको ब्याजदर नै हो त ?
समस्या विहीन अवस्था कहीले पनि हुँदैन । समस्या जटिल र सामान्य भन्ने हुन सक्छ । अहिलेको अवस्था व्यवसायीका लागि जटिल अवस्था हो । व्यवसायमा समस्या र चुनौति दिनदिनै हुने नै भयो । तर अहिले बजारमा देखिएको तरलता अभाव र बैंकको बढेको ब्याजदरका कारण अहिलेको मुख्य समस्या नै यहि हो ।
व्यवसायीलाई समस्याले त सधै घेरेको नै हुन्छ । समय अनुसार समस्या फरक हुन्छन् । तर अहिले व्यवसायीका लागि ठूलो समस्या भनेको बैंकको बढेको ब्याजदर नै हो ।