Dhulikhel Eco Banner new

यस्तै हो भने अब लघुवित्त ‘कोल्याप्स’ हुन्छ : सोगत वीर चौधरी

41.3K
shares

गरिबी निवारणका लागि लघुवित्तको भुमिका महत्वपूर्ण हुने धारणा राख्ने आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी अहिले लघुवित्तलाई अवसर भन्दा चुनौती धेरै थपिएको धारणा राख्छन् । दुर्गा प्रसाई जस्ता व्यक्तिको उक्साहटमा कतिपय व्यक्ति लघुवित्तको बिरुद्ध लागेको भन्दै गाउँ गाउँमा बैठकै गर्न नसक्ने स्थिती आएकोमा चिन्ता व्यक्त गर्छन् । यीनै विषयमा केन्द्रित रहेर सिईओ चौधरीसंग गरिएको कुराकानी :

अहिले लघुवित्तको वर्तमान परिस्थीति कस्तो छ ?

अहिले लघुवित्त भाइवल हुनै सकिरहेको छैन । सबै लघुवित्तहरु माइनसमा छन् । एनपिएल बढेको बढै छ । अवस्था एकदम नराम्रो छ ।

भनेपछि लघुवित्तलाई काम गर्न गाह्रो भएको हो ?

धेरै गाह्रो छ । काम गर्न फिल्डमा जाँदा, मिटिङ गर्न जादाँ त्यहाँ लघुवित्त संस्था विरुद्ध संघर्ष समिति बनिसकेको हुन्छ । ‘लघुवित्त संस्था विरुद्धको संघर्स समितिको नाममा विप्लवका कार्यकर्ता हो भन्दै तर्साउने, धम्काउने घटना पनि भएको छ । बैठक बस्नै पाइदैन । जम्मा भएको पैसा पनि लुट्न खोज्ने, कर्मचारीलाई पिट्न खोज्ने जस्ता घटना भइरहेको छ । ‘फेरी दोस्रो पटक आयौ भने राम्रो हुने छैन, त्यसको जिम्मेवार आफैं लिनु पर्नेछ ’ जस्ता धम्कि दिन्छन् कतिपय ठाउँमा ।

लघुवित्तले धेरै व्याज लिएको भन्दै विरोध भइरहेको छ, यसबारे तपाईको धारणा के छ ?

लघुवित्तले तोकेको भन्दा धेरै ब्याज लिएको छैन, यो गलत कुरा हो । नेपाल राष्ट्र बैंकले १५ प्रतिशत ब्याज तोकिदिएको छ । त्यो भन्दा बढि कसैले पनि लिएको छैन । लिएको भए त हामी सबै संग गुनासो उजुरी पेटिका छ, ग्राहकहरुले उजुरी गर्न सक्नु हुन्छ नि । राष्ट्र बैंकले पनि गुनासो सुनाई उजुरी पेटिका राखेको छ, यदि कसैले बढी लिएको छ भने त्यहाँ प्रमाण सहित उजुरी गर्न आउनु पर्यो । मैखिक रुपमा बढि लियो, ठग्यो भनेर भन्नु गलत कुरा हो । प्रमाण सहित आउनु पर्यो । यो आरोप लगाएको कुरा मात्र हो ।

लघुवित्तको नाफा किन उच्च हुन्छ ?

लघुवित्तहरु अरु जस्तो हाइफाइ हुदैँन । सामान्य टेवल कुर्सीमा बस्छन् कर्मचारी । बिहान नौ बजे नै सबै कर्मचारीदेखि लिएर सिइओ समेत काममा खटिन्छन् । खर्चहरु कम गर्नु हुन्छ । लघुवित्तका कर्मचारीले सामान्य जीवन बिताउनु हुन्छ ।

कुनै बेला बैंकबाट ७, ८, ९ प्रतिशत सम्म लघुवित्तहरुले लोन पाउथ्यो । त्यति बेला नाफा अलि राम्रो थियो तर अहिले लिक्युडिटि क्राइसेसले गर्दा लघुवित्तहरुले १४ प्रतिशतमा लोन लिएर १५ प्रतिशतमा लगानी गरिरहेको छ । एकातिर लघुवित्त संघर्स समितिले यो प्रकारको व्यवधान खडा गरेकाले एनपिएल बढि रहेको छ ।

प्रोफिटको मार्जिन घट्नु एनपिएल पनि बढ्नु दोहोरो संकट छ । कर्मचारीका सेवा सुविधाका कुराहरु छँदै छ । लघुवित्त पनि ‘डि’ क्लासको बैंक हो, त्यहीँ बैंकको सेवा सुविधा अनुसार सबै कर्मचारीले सेवा सुविधा खोज्न थाले त्यसैले गर्दा अहिलेको अवस्थामा गा¥हो छ । कुनै दिन लघुवित्तको नाफा राम्रो थियो तर अहिले छैन । यस्तै हो भने अब लघुवित्तहरु कोल्याप्स हुन्छ ।

लघुवित्त लक्षित समूहमा पुग्न नसकेको गुनासो व्यापक छ, यो किन भयो ?

यो गलत कुरा हो । लघुवित्त गरिबहरुको बस्तीमा, गाँउ गाँउमा सेन्टरल मिटिङ गर्छ । गाउँ घरमै गएर गर्दा त धनी समुदायका मानिस आउदैनन् नि । विपन्न समुदायका मानिस जो आफ्नो सानो व्यवसाय सञ्चालन गरेर बसेका छन् जसलाई बैंकले पत्याउदैन, जो संग सुन चादिँ छैन, जग्गा जमिन धितो राख्न सक्दैनन् त्यस्ता व्यक्तिहरु मात्र आउछन् समूहमा र आफूले कमाएको दैनिक पैसा पनि बचत गर्छन् । आफुलाई चाहिएको ऋण पनि लिएर जान्छन् । ठूलो ऋण भनेको अहिले हामीसँग ७ लाख भन्दा बढि लोन नै छैन, त्यसले गर्दा यो भनेको लक्षित वर्गकै लागि हो । ५० हजार देखि लिएर ७ लाख सम्म हुन्छ । धनी मानीलाई त यो लोनमा आखैँ लाग्दैन त्यसैले यो लक्षित वर्गमै छ ।

लघुवित्त र सर्वसाधरणबिच सम्बन्ध राम्रो हुनका लागि सरकारले कस्तो कदम चाल्नु पर्छ ?

सरकारले पहिलो कुरा त शान्ति बहाली गर्नु पर्यो । किनभने लघुवित्त भनेको एउटा सरकारले बनाएको कानुन अनुसार राष्ट्रिय बैंकले बनाएको निर्देशन अनुसार कम्पनी ऐनमा दर्ता भएर राष्ट्र बैंकबाट सञ्चालन अनुमति लिएर चलेको संस्था हो । यसले राज्यलाइ पनि आफ्नो प्रोफिटको ३० प्रतिशत कर तिर्छ ।

सरकारले अनुमति दिएको दर्ता भएर चलेको एउटा संस्थाले गाउँमा गएर निर्धक्क काम गर्न पाउनु पर्छ । संस्थाले नियम संगत ढंगमा बैठक सञ्चालन गर्दा सदस्यहरुले आफ्ना कुरा राख्न पाउछन् । आफ्नो व्यापार, व्यवसायलाई प्रवद्धन गर्न पनि पाउँछन् । अब गाँउमा जादाँ मार्छौ, पिट्छौ भन्ने, बैठक बसाउन पाउन्नौं भन्ने जस्ता घटनाले लघुवित्तलाई कमजोर बनाउछ । त्यस्ता अराजक काम गर्नेलाई पहिला राज्यले नियन्त्रणमा लिनु पर्यो । राज्यले शान्ति बहाली कायम गर्न नसक्दा अहिलेको यो स्थिती आएको हो । लघुवित्तका लागि पनि लघुवित्त फे्रन्डिली कानुनहरु हुनुपर्यो ।

अहिले लघुवित्तलाई धरापमा पार्ने कतिपय कानुनहरु पनि आएका छन् । स्थानीय तहबाट लघुवित्तलाई केही सहयोग भइरहेको छैन ।

स्थानीय तहका  जनप्रतिनिधिहरुको लघुवित्तलाई हेर्ने दृष्टिकोण खराब छ । अहिले पनि धेरै ब्याज लिन्छन् भन्ने बुझाई छ । वास्तविकता के हो त्यो थाहा छैन्, हेर्नु हुन्न । लघुवित्तको कुनै कार्यक्रममा बोलायो भने स्थानिय जनप्रतिनिधी आउँनु हुन्न अनि उहाँहरुले बझ्नु हुन्न । खाली अर्काको भरमा फेसबुक हेरेको भरमा, दुर्गा प्रसाई जस्ता व्यक्तिले लघुवित्त विरुद्धको बोलेको कुरा फेसबुकमा हेरेर धारणा बनाउँछन् ।

गलत मनसायबाट प्रेरित भएर धेरै लघुवित्तबाट पैसा लिएर छोराछारीलाई विदेश पठाउँने, राम्रा मोवाइल किन्ने , फजुल खर्च गर्ने पनि छन् । त्यस्ता व्यक्तिहरुले लघुवित्तको ऋण तिर्दैनौ भन्दै फेसबुकमा पोस्ट गरेको आधारमा जे कुरा गरिरहेका छन् वास्तविकता नबुझेर हो । अहिले लघुवित्तलाई हेर्ने जुन दृष्टिकोण बनेको छ त्यसैले लघुवित्तमा समस्या परिरहेको छ ।

लघुवित्तको अवसर र चुनौती कस्तो छ ?

लघुवित्तको अवसर भनेको अहिले पनि नेपालमा गरिबी उन्मुलन भएको छैन । गरिबहरुको सेवा गर्नका लागि यसलाई प्रशस्त क्षेत्रहरु छन् । गरिब समुदायहरुको उन्नती गराउन कृषि क्षेत्र देखि पशुपालनलगायत अन्य साना साना व्यवसाय प्रवद्धन गर्नका लागि उद्यमी सृजना गर्नका लागि लघुवित्तले प्रशस्त अवसरहरु पाएको छ ।

चुनौती भनेको लघुवित्त नबुझ्ने, प्रोपगान्डा फैलाउने, लघुवित्तको विरुद्धमा प्रचार प्रसार गर्ने र लघुवित्तलाई राजनितीक रुपमा धराप पार्नेहरु हुन् । लघुवित्तका ग्राहक सदस्यलाई आफ्नो फुड बैंक बनाउनका लागि ऋण मिनाहा गर्दिन्छु भनेर गलत प्रचार गर्ने व्यक्तिका कारणले गर्दा आज लघुवित्त धरापमा परिरहेको छ । यसको चुनौती भनेको लघुवित्तले आफुले जुन मार्जिनमा पाउनु पर्ने पैसा थियो, कम्तिमा पनि ६ प्रतिशत सम्म त नाफा लिन पाउनु पर्छ, त्यो पैसा पाईरहेको छैन त्यसले गर्दा लघुवित्तमा क्राइसिस् आयो । लघुवित्तले राम्रो संग काम गर्न पाएको छैन ।