दिदीबहिनीले स्थापना गरेको लघुवित्त संस्था कहिल्यै ‘कोल्याप्स’ हुँदैन : रोशन कुमार अधिकारी
वि.सं.२०८० असोज १५ सोमवार १५:०४
shares

२०५५ सालदेखी लघुवित्तमा आवद्ध रोशन कुमार अधिकारी अधिवक्ता पनि हुन् । लघुवित्तको विषयमा गहन अध्ययन गर्ने अधिकारी प्रष्ट वत्ताको रुपमा चिनिन्छन्, अभियान लघुवित्तको सिइओ रहेका अधिकारी अहिले लघुवित्त क्षेत्रमा देखिएको संकटलाई सम्भावनाको रुपमा व्याख्या गर्छन् । कुनै पनि क्षेत्रमा संकट आएपछि तत्कालिन समस्या समाधान भएर सम्भावनाको बहार आउने उनको बुझाई छ । उनैसंग गरिएको कुराकानी :
अहिले नेपालमा लघुवित्तको अवस्था कस्तो छ ?
अहिले लघुवित्त परिवर्तनको संघारमा छ । यसमा संलग्न पार्टीहरु, ग्राहक, सञ्चालक, कर्मचारी, लगानीकर्तालगायत सम्बन्धित पक्षहरु जागरुक भएका छन् । सबैले यसको तथ्यहरु बुझ्ने प्रयास गरिरहनु भएको छ । यसो हुनु आफैंमा राम्रो हो ।
लघुवित्त संकटमा छ । कोल्याप्स हुने स्थिती भन्ने पनि सुनिन्छ नि ? काम गर्न गाह्रो भएका हो ?
काम गर्न गाह्रो भएका हो । तर, यसो भन्दैमा कोल्याप्स भैहाल्दैन । किनभने लघुवित्त भन्ने संस्था विवेकशिल महिला दिदी बहिनीहरुले स्थापना गर्नु भएको थियो । यसको पुरै व्यवस्थापन उहाँहरुले गर्नु भएको छ । उहाँहरुलाई यसको मर्म थाहा छ । महिला दिदी बहिनीहरुले आफ्नो दिल, भावना र इच्छाले लघुवित्तलाई आफ्नै संस्था हो भन्ने सम्झेर यसको विकास गर्नु भएको छ । त्यसले गर्दा यो कोल्याप्स हुदैन । यसमा केही नियम परिवर्तन होला, केही सजिला उपायहरु अपनाउलान् । सबै जनाले यसको समस्या बुझेपछि सुध्रिदै जान्छ कोल्याप्स त कुनै पनि हालतमा हुदैन । झन झन सुदृण हुदैँ जान्छ ।
लघुवित्तको अवसर र चुनौति कस्ता छन् ?
लघुवित्तमा बिचको एउटा समय काममा सिथिलता आयो । ऋण लिएर नतिर्नेहरुका कारण लगानी गर्नेलाई पनि सकस भयो । संस्थाहरुले पनि संकुचित तरिकाले सर्तक भएर लगानी गर्न थाले । लघुवित्तले जब सर्तक भएर लगानी गर्न थाल्यो, जो महिला दिदी बहिनीहरुले सजिलै कर्जा पाइरहनु भएको थियो, उहाँहरुलाई पनि अब यसरी सजिलै नपाइने रछ भन्ने भयो, उहाँहरुले पनि लघुवित्तको मर्म बुझ्नु भयो । स्थिती सहज बन्दै गएको छ । पछिल्लो समयमा जो बुझेका महिला दिदी बहिनीहरु हुनुहुन्छ, उहाँहरुले धेरै ठाउँवाट ऋण लिन नहुने रहेछ भनेर बुझ्नु भो अन्यत्र चुक्ता गरेर एकै ठाउँवाट लिन्छु भनेर आफैं प्रस्ताव लिएर आउन थाल्नु भएको छ । कतिपय सदस्य केही समय सम्पर्क विहिन जस्तै हुनु भयो । उहाँहरु पनि सम्पर्कमा आउनु भयो । धेरै ठाउँ बस्दा आफैंलाई गाह्रो हुने रहेछ भन्ने महसुस् गरेर उहाँहरु आउनु भएको छ ।
लघुवित्तमा आबद्ध महिलाहरु अहिले सर्तक भएर ऋण लिन थाल्नु भएको छ । लिने मात्रै हैन दिने पनि सजग भएका छन्, यो एकदम ठूलो उपलब्धि हो खराबी आफ्नो ठाँउमा होला, तर उपलब्धि पनि भएको छ । लघुवित्तको संस्थागत विकासका लागि संक्रमणकालिन अवस्था पनि कामयवी भएको छ। यसले राम्रो भुमिका खेल्छ । यसमा सब भन्दा बढी राम्रो रोल त राष्ट्र बैंकले गरेको छ । समयमा जुन नियमहरु ल्यायो, यसले तत्काललाई गाह्रो पारे पनि सबैलाई एउटा सजिलो वातावरण बनाइदिँदै गएको छ ।
लघुवित्त र सर्वसाधारण बिच सम्बन्ध राम्रो बनाउन सरकारले कस्तो भूमिका खेल्नु पर्छ ?
सरकारले पोजेटिभ एक्सप्रेसन दिए मात्र पुग्छ । साच्चै भन्दा लघुवित्तको कारोवार कम हुँदा, सदस्यहरुले सजिलैसँग ऋण नपाउँदा सरकारलाई पनि घाटा हुन्छ । लघुवित्त संस्थाहरुले राम्रै कर तिर्थे । उहाँहरुले पनि हिसाब पक्कै गर्नु भएको छ । लघुवित्त संस्थाले विगतमा कति कर तिरेको थियो । पुरानो तथ्य हेर्दा पनि देखिन्छ सरकारले पाउने करको दर घटेको । सरकारलाई प्रत्यक्ष रुपमा इनकम दिने स्रोत पनि हो लघुवित्त । यो सरकारको पनि करसँग प्रयक्ष रुपमा जोडिएको विषय भएको हुनाले यसलाई सर्तक भएर हेरिरहेको देख्छु ।
महिला दिदी बहिनीहरुले आफ्नो दिल, भावना र इच्छाले लघुवित्तलाई आफ्नै संस्था हो भन्ने सम्झेर यसको विकास गर्नु भएको छ । त्यसले गर्दा यो कोल्याप्स हुदैन ।
सरकारले लघुवित्तलाई मर्ज गर्ने निती लिएको छ । ति मध्ये कति मर्ज भए पनि, मर्ज भएपछि कस्तो असर देखिएको छ ?
मर्ज भईसकेपछि संस्थाको संस्थागत क्षमता बढेर आउँछ । संस्थागत क्षमतामा दुई वटा क्षमता बढेको हुन्छ, एउटा क्यापिटलको स्ट्रेन्थ बढ्छ अर्को जनशक्क्तिको पनि स्ट्रेन्थ बढ्छ । यसरी बढ्दा लघुवित्तको कारोबारलाई व्यवस्थित गर्न सकिन्छ । सूचनाका कुराहरु व्यवस्थित हुन्छ । त्यस बाहेक ग्राहकहरु जुन छरिएर बसेका थिए ति ग्राहकहरु पनि एकै ठाँउ संग्लिएर आउँछन् । अर्को राम्रो पक्ष भनेको कर्मचारी यो लघुवित्त त्यो लघुवित्त भनेर भनिरहेका थिए ठूलो संस्थामा आईसकेपछि उनीहरुको ‘स्टावेलिटी’ पनि राम्रो भएर जान्छ ।संस्थाको क्षमता पनि बढ्छ, विश्वासनियता पनि राम्रो हुन्छ र सदस्यहरुलाई पनि सजिलो हुन्छ ।
यो सबै कारणले गर्दा मर्ज हुनु फाइदाको कुरा हो । मर्ज भएर २५/ ३० वटा भए भने डुब्लिकेसनहरु पनि कम हुन्छ । संस्थाको ऋण दिने क्षमता पनि बढेर जान्छ । अहिले ऋणको सूचना व्यवस्थापन, सदस्यको क्षमता एनालाइसिसमा इस्यु भएर नै यो समस्या आएको हो । त्यसपछि जब व्यवस्थित हुन्छ अनि ग्रायाजुएड क्लाइन्टहरुलाई अलिक ठूलो खालको ऋणहरु दिन सक्ने स्थितीमा संस्था पुग्छ ।
बढीमा लघुवित्तले कति ऋण दिन्छ ?
यो सदस्यको क्षमतामा भर पर्ने कुरा हो । अहिलेलाई ७ लाख छ । ७ लाख एउटै संस्थावाट लिएको भएत ठिकै हुन्थ्यो तर त्यो धेरैबाट लिएर गाह्रो भएको छ ।
केही व्यक्ति लघुवित्तको ऋण नै तिर्दिन भन्दै हिडेका छन्, ऋणीले ऋण तिर्दिन भन्ने कुरा कसरी आयो ?
ऋण तिर्दिन भनेर कसैले पनि ऋण लिएको हुदैन । साक्षरताको अभावमा केही व्यक्तिहरुले भनेको आधारमा नर्तिदा पनि चलि हाल्छ भन्ने भावना अल्पकालिन रुपमा मात्र विकसित भएको हो । यो ऋण सरकारले तिर्ने वा कसैले तिर्ने भन्ने कुरा त हुन्न । यो त व्यक्तिगत रुपमा सबैले दायित्व लिएको कुरा हो, लोन भनेको । फेरी यो पैसा काहिँबाट आएको डोनेसन होइन । यसमा लगानी भएको शेयर होल्डरको पैसा, बैंकहरुले दिएको ऋण त्यो पनि कुनै बचत कर्ताको बचत नै हो । बैंकले पनि कतैबाट यत्तिकै ल्याएको होइन । बचत कर्ताको पैसा परिचालन गरेको मात्र हो ।
लघुवित्तको जति स्रोत छ ऋणको रुपमा सदस्यहरुले लिएका छन् । यो पब्लिक ल्याबलिटिको स्रोतहरु हो । सर्वसाधारणले एउटा संस्थामा पैसा दिए, अर्को संस्थाले चलायो, कुनै व्यक्तिले ऋण लियो भनेसी यो पैसा पब्लिकको हो, पब्लिकले लिएको छ नतिर्ने भन्ने छलफलको विषय नै होइन । कसरी, कुन तरिकाले तिर्ने छलफलको विषय हो । तिर्न पर्दैन, तिर्दिन भन्ने छलफको विषय कहिले पनि हुदैन ।