GBIME
Machhapuchhre

दोकानदार पसल बन्द गरेर विदेश जान्छु भन्न थाले : हरिप्रसाद पाठक

4.19K
shares
NCHL Banner

काठमाडौं, १५ असोज । विभिन्न व्यवसायमा संलग्न व्यक्तिसंग दैनिक भेटघाट गर्छन् हरिप्रसाद पाठक । कोटेश्वर व्यवसायी संघका संस्थापक महासचिव पाठक चार वर्ष सोही संस्थाको अध्यक्ष भए । अहिले उनी घरबहाल सरोकार महासंघका महासचिव पनि हुन् ।

संघसंस्थाको नेतृत्व गरेपछि आफ्नो काम मात्रै गरेर सुख पाइन्न भन्नेमा उनी सचेत छन् । दशैं आउन लाग्दा पनि दोकानमा ग्राहक आएनन् भन्दै झोक्राएर बसेका दोकानदारका सुख दुःख बुझ्दै हिँडेका पाठक अहिले आफै पनि निरास छन् । उनको निरासाको कारण आर्थिक मन्दी मात्रै हैन । पछिल्लो समय व्यवसायीहरुको अभिव्यक्तिले उनलाई चिन्तित बनाएको छ । सम्पर्कमा रहेका व्यवसायीले उनलाई भन्न थालेका छन् ‘दशैंमा पनि व्यापार भएन भने अब विदेश जानुको विकल्प छैन ।’

वर्षौंदेखी व्यापार व्यवसायमा संलग्न व्यक्तिले यसो भन्लान भनेर उनले सोचेका सम्म थिएनन् । ‘व्यापार हो कहिले घट्छ । कहिले बढ्छ ।’ यस्तै सोच्थे । व्यावसायीले नाफा भएको कुरा गर्न छाडेको चार वर्ष भयो । कोरोना संक्रमण सुरु भएसंगै सुस्ताएका व्यवसायी मिले दोकान बेचेर नभए ताला लगाएरै भए पनि विदेश जान्छु भन्न थालेपछि पाठक नयाँ उपाय खोज्न थालेका छन् ‘यहि स्थिती कायम रह्यो भने दशैंपछि ३० प्रतिशत व्यवासायी विस्थापित हुने खतरा छ ।’ पाठकले भने । काठमाडौंका मुख्य सडकमै सटरहरु खाली हुँदै गएको तर्फ संकेत गर्दै उनी भन्छन् ‘एक किलोमिटर क्षेत्रमा २८/३० वटा सटर खाली हुँदै गएको छ ।’

संकटमा पनि भाडा बढाए

मुल सडकमा व्यापार/व्यवसाय गर्नेहरु प्राय भाडावाल हुन्छन् । शहरमा ६७ प्रतिशत व्यक्ति भाडामा बस्ने गरेको आँकणा पाठकसंग छ । यस अर्थमा घरवाला र भाडावाला एक अर्काका परिपुरक हुन् । दुबै पक्ष एक अर्काका लागि सहयोगी हुनु पर्ने भएपनि पछिल्लो समय भाडावाल पिडित भएको महशुस गरेका छन् पाठकले ‘यहि संकटमा पनि कतिपय घरवालाले १० देखी २० प्रतिशत भाडा बढाएको सुनेको छु ।’ पाठकले भने ।

तीन तहका सरकारलाई कर बुझाउने भएपनि व्यवसायीका पक्षमा बोल्नेहरु भेटेका छैनन् । व्यवसायीका हकहितका कुरा गर्दै स्थानिय, प्रदेश र केन्द्र सरकारसम्म नपुगेका होइनन् । अहिले पाठक आफैंलाई लाग्न थालेको छ ‘व्यवसायीका पक्षमा बोल्ने कोही पनि हुँदो रहेनछ ।’

व्यवसायी यस अर्थमा सही छन् । सबथोक चाहियो भनेर घरधनीसंग मागेका छैनन् । प्रायले भाडामा बसेपछि पानी, बिजुली, फोहोर, पार्किङको पैसा आफैं तिर्छन् । त्यति मात्रै हैन घरबेटीले तिर्नुपर्ने घरबहाल कर पनि आफैं तिर्छन् । त्यही घरबहाल कर मध्ये केही छुट हुन्छ कि भन्दै काठमाडौं महानगरपालिकासम्म धाए । ‘सरकार त हाम्रो लागि होइन रहेछ ।’ सरकारले आफुहरुको कुरा नसुनेको कुरा गरे ।

अब व्यवसायीले थेग्न सक्दैनन्

अहिले देखिएको संकट गम्भिर र जटिल हो भन्ने बुझेका पाठक संकटबाट पार पाउन व्यवसायीका पहलले सम्भव नहुने धारणा राख्छन् । प्रदेश, स्थानिय र केन्द्र सरकारले समन्वय गरेर व्यवसायीलाई राहतको प्याकेज ल्याउन ढिला भैसकेको धारणा राख्छन् । राज्यले दिने कर छुट गराएर हो वा बैंकको ब्याजदर घटाएर व्यवसायीलाई लोन दिन पर्ने उनको सुझाब छ ।

रुपन्देहीबाट सिक्नु पर्ने पाठ

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २ प्रतिशत घरबहाल कर रहेको उदहारण दिँदै घरबहाल सरोकार महासंघकै कारण यो सम्भव भएको बताउछन् । उक्त नगरपालिकाले करको दायरा बढाउदै दर घटाएको थियो । नेपालगञ्जदेखी पाल्पासम्म संघले सरोकारवालासंग छलफल गर्दै करको दर घटाउन पहल गरेको थियो । काठमाडौंमा पनि टोखा नगरपालिकाले आफुहरुको आवाज आंसिक सुनेको धारणा राख्दै पाठक भन्छन् ‘काठमाडौं महानगरपालिकाले पनि हाम्रो आवाज सुन्नु पर्छ ।’

महंगी अत्याधिक

एकातिर व्यापार छैन । अर्कोतीर महंगी उधुम बढेको छ । अघिल्लो वर्ष २५ रुपैयाँ किलोमा किनेको मुला अहिले १५० रुपैयाँ पुगेको उदहारण दिँदै उनी भन्छन् ‘कुनै पनि तरकारी प्रतिकिलो एकसय रुपैयाँ भन्दा कममा पाइदैन ।’ खाद्यान्न जस्तै कोठा भाडा महंगिएको बताउने पाठक अपिलको भाषामा भन्छन् ‘देशमै केही गरौं भन्नेहरुलाई यही रोक्ने कि खाडी पठाउने अब सरकारकै हातमा छ ।’