GBIME

‘एउटा कर्मचारीले गरेको कमजोरीको दोष सबै लघुवित्तलाई दिनु हुँदैन’

930
shares

लघुवित्त वित्तीय संस्थाका बारेमा पछिल्लो समय व्यापक आलोचना भइरहेको छ । कतिपयले लघुवित्तको ब्याजदरको विषयलाई लिएर लघुवित्त माथि गम्भीर आरोपहरु समेत लगाएका छन् । पछिल्लो समय लघुवित्तहरु माथि भइरहेका टिकाटिप्पणीबारे लघुवित्तको धारणा चाहिँ के छ त ? प्रस्तुत छ, यसै सन्दर्भमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेसँग केटिएम भ्वाइसका लागि नरेश बोहोराले गरेको कुराकानीको सम्पदित अंशः

लघुवित्तको अहिलेको वर्तमान अवस्था कस्तो छ ?

शान्ति सुरक्षासँग जोडेर हेर्ने हो भने अहिले निकै ठूलो समस्या छ । लघुवित्तको वर्तमान अवस्थालाई मध्यनजर गदै लघुवित्त बैंकर्स एसोसिएसनले विज्ञप्ति निकालेको थियो ।

गाउँ घरमा कानूनलाई आफ्नो हातमा लिने, अराजक अवस्था उत्पन्न गर्ने खालका समस्या छन् । कतिपय ऋणीहरु पनि समस्यामा हुनुहुन्छ । व्यवसायहरु नचलेर सटर बन्द गर्नुपर्ने अवस्था छ । यसको असर लघुवित्तमा पनि परेको छ ।

लघुवित्तविरुद्ध भएका सडक आन्दोलनको असर कस्तो परेको छ ?

पछिल्ला समय भएका घटनाले व्यवसायहरुको आत्मवल कमजोर भएको छ । लगानी गर्ने लगानीकर्ताहरुको पनि मनोवल उच्च हुन सकेको छैन । लगानीका लागि राम्रो वातावरण बन्न सकेको छैन । भौतिक आक्रामण हुने खालका आन्दोलनले कर्मचारीमा त्रास बढेको छ । लघुवित्तका हजारौँ कर्मचारीहरु छन् । ६० वटा संस्थाहरु छन् भने ५ हजार त शाखा सञ्जाल नै छन् ।

लघुवित्तमा समस्या भएको होला । तर सबैमा समस्या भएको होइन । एउटा कुनै संस्था वा तिनको कर्मचारीले गरेको कमजोरीलाई देखाउदै समग्र लघुवित्त संस्था नराम्रो भन्न मिल्दैन । कुनै लघुवित्तमा कार्यरत मान्छेले आफ्नो पदको दुरुपयोग गरेको भए उसलाई सजाय दिनुपर्छ । समग्र लघुवित्तलाई गाली गर्नु हुँदैन ।

लघुवित्तमा त्यस्तो के समस्या छ, जसका कारण सर्वसाधारण ऋणीहरु सडकमै आउनु प¥यो ?

ऋणी सदस्यहरु सडकमा आउनुको कारण आर्थिक समस्या हो । पहिला–पहिला ऋण लिएर कमाएर तिर्न सकेका थिए, त्यसमा समस्या थिएन । पछिल्लो समय आम्दानीमा जुन संकुचन आयो त्यसपछि मान्छेहरूसँग पैसा कम हुन थाल्यो ।

लघुवित्तमा सहजै ऋण पाइन्छ । ऋण लिएर कसैले बंगुर पालेका छन्, कसैले कुखुरा पालेका छन् । सबैको राम्रो छ । तर समयमा बिक्री नभएका कारण पनि कतिपयलाई समस्या परेको छ । अहिले हाम्रा ऋणी सदस्यहरुलाई उत्पादनमा भन्दा पनि उत्पादन भएको कुरा बजारीकरण हुन नसकेर समस्या भएको छ ।

ब्याजदरका विषयमा चाहिँ तपाईको के धारणा छ ? अत्यधिक ब्याज लिइएको हो ?

लघुवित्तले नचाहिँदो ब्याज लिएको छैन । कोभिड भन्दा अगाडि १८ प्रतिशत थियो । कोभिड पछाडि सरकारले सजिलो बनाइदिनु प¥यो १५ प्रतिशतको क्याप लगाइएको हो ।

यो व्यवस्था कायमै छ । अर्थात १५ प्रतिशत भन्दा एक पैसा मात्र बढी लिए राष्ट्र बैंकले कारबाही गरिहाल्छ । १५ प्रतिशत बढी भयो कि कम भयो त्यो विषय हुन सक्छ । तर पन्ध्र प्रतिशत भन्दा बढी लियो भन्नु निराधार हो ।

ग्रामिण क्षेत्रमा वित्तीय सेवा पुर्याउन खोलिएका लघुवित्त अहिले मूनाफा केन्द्रित भएका कारण चाहिँ समस्या भएको हो कि ?

वित्तीय संस्थाले नाफा मात्रै कमाएका छैनन्, झन्डै २५ प्रतिशत संस्थाहरू अहिले पनि घाटामा छन् । हामीले पनि नाफा कमाउन नसकेको एक वर्ष भइसक्यो । यदि कुनै संस्थाले नाफा कमाउदैछ भने त्यो शंकाको विषय हुनुहुदैन् । एउटा संस्था नाफामा हुनु भनेको नै दिगो समयसम्म बजारमा हुनु हो ।

उसले सेवा सुविधा पर्याप्त दिनु हो । कुनै संस्था निरन्तर घाटामा भएर सेवा सुविधा दिन सक्दैन । १५ प्रतिशत ब्याज लिएर संस्था नाफामा हनु राम्रो संङकेत हो । नाफामा नै छ भनेर कुनै पनि संस्थाको विरुद्धमा जथाभाबी बोल्ने, सडकमा आउने काम नराम्रो हो । लामो समय सम्म सेवा–सुविधा लिनलाई संस्था नाफामै हुनुपर्छ ।

लघुवित्तको समस्या समाधानका लागि सरकारबाट कस्तो अपेक्षा गर्नु भएको छ ?

सबै भन्दा पहिले सरकारले दुवै पक्षलाई सूचना समयमा नै दिनु पर्छ । पूर्ण रूपमा सूचना समयमै नपाउनाले एक अर्कामा शंका आउने खालका समस्या आउँछन् । त्यसैले सूचना समयमानै पाएपछि यस्ता समस्या केही हद सम्म कम हुन्छन् । सरकारले त्यो गर्नुपर्छ ।

तपाईको विचारमा लघुवित्तमा देखिएको समस्या समाधानका लागि तत्कालै के गर्नु पर्ला ?

समस्या समाधानका लागि विभिन्न किसिमका चेतना मूलक कार्यक्रम गर्नुपर्छ । वित्तीय संस्था सँग जोडिएका ऋणीलाई सुसूचित गर्ने गर्नुपर्छ । उहाँहरूको कुनै पनि समस्या छ भने समाधान गर्यो भने केही हदसम्म समाधान हुन्छ ।

Premier Steel Banner