पुन गृहमन्त्रालयमा फर्कँदै सुधन गुरुङ, आजै शपथ ग्रहण
वि.सं.२०८३ जेठ २६ मंगलवार १२:४५
shares

काठमाडौं, २६ जेठ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुन गृहमन्त्री बन्ने भएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै गुरुङको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने तय भएको छ।
सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि लागेको आरोपबारे छानबिन समितिको प्रतिवेदनका आधारमा क्लिन चिट दिने निर्णय गरेको हो।
गुरुङमाथि उठेका विभिन्न प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत शुक्रबार आफ्नो ४५ पृष्ठीय प्रतिवेदन सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदनमा उनीविरुद्ध उठाइएका आरोप पुष्टि हुने आधार नदेखिएको निष्कर्ष निकालिएपछि मन्त्रिपरिषद्ले उनलाई पुनः जिम्मेवारी सम्हाल्ने बाटो खुला गरेको हो।
गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले वैशाख २८ गते छानबिन समिति गठन गरेको थियो। नयाँ सरकार गठनपछि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानीलगायत विषयमा उठेका प्रश्नका कारण विवादमा तानिएका थिए।
आरोपहरूबारे नैतिक जिम्मेवारी लिँदै पदबाट अलग भएका गुरुङ अब छानबिन प्रतिवेदनबाट सफाइ पाएपछि पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किन लागेका हुन्।













