Dhulikhel Eco Banner new

वैदेशिक अध्ययनका लागि बैंक ब्यालेन्समा राष्ट्र बैंकको सहजीकरण, ५ प्रतिशत बढी रकम राख्न पाइने

1.56K
shares

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूको वित्तीय प्रक्रिया सहज बनाउन विदेशी मुद्रा सटही तथा बैंक ब्यालेन्स सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ।

विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीका लागि खातामा देखाउनुपर्ने विदेशी मुद्राको रकम तोकिएको सीमाभन्दा ५ प्रतिशतसम्म बढी राख्न अनुमति दिएको हो।

नयाँ व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आवश्यक ठहर गरेमा विद्यार्थीको नाममा रहेको खातामा निर्धारित रकमभन्दा ५ प्रतिशतसम्म बढी विदेशी मुद्रा राख्न सकिनेछ।

राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्राको सूचीमा नपर्ने स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने व्यवस्था रहेको पुष्टि हुने कागजातका आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। विनिमय दरमा हुने उतारचढावका कारण अतिरिक्त खर्चको यकिन गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै पठाउनुपर्ने रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, विद्यार्थीले निर्वाह खर्चका लागि २ हजार ५ सयदेखि ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्। उक्त रकम नेपालस्थित अभिभावकले अध्ययनरत विद्यार्थीलाई पठाउन सक्नेछन्। अन्य शुल्क तथा खर्चका हकमा भने आवश्यक प्रमाणित कागजातका आधारमा अनुमति प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, एकीकृत परिपत्र–२०८२ अनुसार पेस गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने व्यवस्था रहे पनि अब विद्युतीय कारोबार ऐन, २०६३ तथा सोअन्तर्गत बनेका नियमअनुसार डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका कागजातलाई समेत मान्यता दिइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको यो निर्णयले वैदेशिक अध्ययनका लागि आवश्यक बैंकिङ तथा विदेशी मुद्रा व्यवस्थापन प्रक्रियालाई थप सहज बनाउने, साथै विद्यार्थी र अभिभावकको समय तथा लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।