GBIME

पूर्व राष्ट्रसेवक कर्मचारीहरुको अनुभवलाई राज्यले उपयोग गर्नुपर्छ : मन्त्री मोदी

696
shares

काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्व राष्ट्रसेवक कर्मचारीहरुको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताएका छन् । सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘पूर्व प्रशासकको रुपमा तपाईहरुले हासिल गरेको विवेक, क्षमता र अनुभवलाई राज्यले कुनै न कुनै रुपमा उपयोग गर्नुपर्छ’ उनले भने, ‘राष्ट्रको सेवा गर्ने क्रममा तपाईहरुले हासिल गर्नुभएको अनुभव राज्यका लागि सम्पति हो, त्यसको राज्यले उपयोग गर्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।’ मन्त्री मोदीले जनताको सेवा नै सबैको प्राथमिकता रहेको बताउँदै भन्दै सेवानिवृत्त भएका राष्ट्रसेवकहरुबाट सिक्नुपर्ने कुरा धेरै रहेको बताए । देश र जनताको इमानदारितापूर्वक सेवा गरेकाहरु अधिकार र सेवा सुविधाबाट बञ्चित भइराखेका भन्दै यस विषयमा संगठित रुपमा राज्यलाई घच्घच्याउन पनि उनले आग्रह गरे ।

सेवा निवृत्त राष्ट्र सेवकहरुलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने पनि मन्त्री मोदीको भनाइ थियो । यसअघि बजेट भाषणमा समेत समाविष्ट भएको राजन कार्ड लागू गर्ने सन्दर्भमा पनि आवश्यक छलफल गरेर कार्यान्वयनको प्रक्रिया थाल्ने पनि उनले बताए । त्यसैगरी सुशासन कायम गर्ने विषय नै सरकारको प्राथमिकता भएको मन्त्री मोदीको भनाइ थियो ।

‘बरण्डामा रहेका कर्मचारीहरु सम्बन्धित मन्त्रालयमा पठाउनुस्, स्थानीय तह जो निमित्तले भरिएका छन्, उनीहरुलाई त्यहाँ पठाउनुपर्ने छ भनेर मैले आउनेवित्तिकै परिपत्र गरे’ मन्त्री मोदीले भने, ‘म आएपछि झण्डै एक सयको हाराहारीमा निमित्तको अन्त्य गसिके, यो क्रम जारी रहन्छ ।’ मन्त्री मोदीले रमाना नलिने र नदिने दुवै कर्मचारीलाई विभागीय कारबाही गर्नेगरी परिपत्र भइसकेको समेत बताए । ‘जसको जहाँ सरुवा भएको छ, त्यहाँको लागि रमाना नलिने र कार्यालय प्रमुखले पनि रमाना नलिनेगरी भइरहेको बेथिति अन्त्यका लागि ७ दिनभित्र रमाना लिन वा दिन मन्त्रीस्तरीय निर्णयबाट परिपत्र भइसकेको छ’ उनले भने, ‘७ दिनभित्र यो प्रक्रिया पूरा गर्ने जोकोहीमाथि विभागीय कारबाही हुन्छ ।’