नामको पछाडी डाक्टर लेख्थे अनि लजाउथे राजेशकाजी
वि.सं.२०८० भदौ १९ मंगलवार १४:०४
shares

काठमाडौं १९ भदौ । पूर्वमन्त्रीसमेत रहेका उद्योगपति राजेशकाजी श्रेष्ठकै पालामा नेपाल चेम्बर अफ कमर्शले गति लिएको भन्नेहरु धेरै छन् । बिस २०३६ सालमा चेम्बरको सदस्य भएका श्रेष्ठ खासमा करकापमा चेम्बरको कार्यसमितिमा प्रवेश गरेका थिए ।
०४४ सालमा नेपालमा उद्योगधन्दा बृहत भैसकेको थिएन । चेम्बर पनि गति लिने तयारीमा थियो सुरेन्द्र मालाकारले भने ‘राजेश अब चेम्बरमा उठ्नुपर्छ ।’ राजेशले जवाफ फर्काए ‘आमाको लाम्टो चुसेर भएन अब बाउको घुँडा चुसेर हुन्छ म उठ्दिन ?’
अर्को वर्ष फेरी त्यहि कुरा आयो ‘चेम्बरमा उठ्नु प-यो ।’ बा, मामादेखी धेरै जनाको सन्देश आयो । यसपाली चेम्बरमा कार्यसमितिमा बस्नु प-यो ।
जब चेम्बरको कार्यसमितिमा सहभागी उनलाई चेम्बरकै नशा लाग्न थाल्यो । उमेरले तन्नेरी राजेशकाजीमा संस्थाका लागि केही गर्नुपर्छ भन्ने थियो । अध्यक्षले फोन गर्ने बित्तिकै तत्कालै उपस्थित भैहाल्थे । सेमिनार हुन्थ्यो तीन दिनसम्मको । बुढाहरु त्यति जाँगर लगाउदैन थे । राजेश र उनको टोली सेमिनार भनेपछि हुरुक्कै हुन्थे । ‘बाहिर घुम्न जान पनि पाइने संस्थाको काम पनि हुने भन्दै हामी त मख्खै पथ्र्यौ ।’ राजेशकाजीले भने ।
राजेशकाजी नै नाम गरेका एकजना साँच्चिकै डक्टर रहेछन् । त्यो थाहा पाएपछि राजेशकाजीले नामको पछाडी डक्टर लेख्न छाडे । त्यो थाहा पाएपछि भारतीयहरुले उनलाई भने ‘यु सुड राइट डक्टर ह्वाई यु डन्ट राइट डक्टर ’
चेम्बरमा सक्रिय भैरहेका थिए । फेरि अर्को प्रस्ताव आयो ‘अब महासचिव बन्नु प-यो ।’ राजेशकाजीले फेरी उस्तै रुखो जवाफ दिए ‘मलाई तोक लगाउन त आउदैन कसरी महासचिब हुने ?’ उनका नाई नास्तीले काम गरेन उठ्नु पर्छ भन्नेले महासचिव बनाएरै छाडे ।
दुई वर्ष महासचिब राम्रो संग चलाए । सँधै चेम्बरका लागि कुदेर हुँदोरहेनछ भन्दै थिए उपाध्यक्षको प्रस्ताव आयो । राजेशकाजी आफैंले प्रस्ताव गरे उपाध्यक्ष पदका लागि अर्का उम्मेदवार । तर, बहुमतले मानेन राजेशकाजी उपाध्यक्ष भए । फेरी अर्को दुई वर्ष बित्यो ।
अध्यक्षको चुनाव हुन छ महिना बाँकी थियो । राजेशले फेरि प्रस्ताव राखे ‘म कुनै हालतमा अध्यक्ष हुन्न ।’ त्यहाँ पनि उनको प्रस्तावले काम गरेन । अध्यक्षको जिम्मेवारी पाए ।
चेम्बरको अध्यक्ष भएकै बेला नेपाल चाइना चेम्बर, आइसीसी चेम्बरलगायत गठन गरे । त्यहि बेला परराष्ट्रमन्त्रीले एउटा प्रस्ताव राख्दै भने ‘राजेशजी भियतनामका लागि महावाणिज्यदुत चाहिएको छ । तपाई आफैं बस्नु भए राम्रो हुने थियो ।
त्यतिबेला नेपालमा हडताल अत्याधिक हुन्थ्यो । कम्तिमा महावाणिज्यदुत भएपछि गाडीमा हरियो प्लेट राख्न पाइन्छ र आवश्यक परेको बेला हिँडन त पाइन्छ भन्ने लाग्यो उनलाई र परराष्ट्रमन्त्रीको प्रस्ताव स्वीकारे ।
चेम्बरको अध्यक्ष हुँदा आधा समय त मिटिङ गरेरै बित्थ्यो । आइसीसीको मिटिङमा उनको एकजना भारतीय साथीसंग भेट भएको थियो । उनले एकदिन भने ‘हाम्रो आइसीसीको एउटा फरेन पोलिसी छ । हरेक वर्ष एकजना व्यापारीलाई डक्टरएडको उपाधी दिने । त्यो उपाधि तपाईलाई दिने योजना छ ।’
भारतका तत्कालिन मन्त्री पृथ्वीराज चौहान र चार पाँच जना सांसदको एउटा समितिले सिफरिस गरेपछि उपाधी दिने रहेछ । राजेशकाजीले नाई भनेनन् । उपाधि पाए । नामको पछाडी डाक्टर लेख्न थाले । अलि पछि आफ्नै नाम देख्दै आफैंलाई लाज लाग्न थाल्यो । बिमा समितिमा डा. फत्त भन्ने थिए । एक दिन भेट भयो झ्याप्पै बधाई दिए ‘ल बधाई छ डक्टरएडको उपाधी पाउनु भएछ ।’ उनको शब्द सुन्ने बित्तिकै राजेशकाजीलाई लाज लाग्यो अनि भने ‘के बधाई हजुर । तपाइहरु पढेको डक्टर हामी त नक्कली ।’
उनले हौस्याउदै भने ‘हामी जस्ता डक्टर कति छन् कति तपाई जस्ता डक्टर त थोर छन् त्यसकारण यो महत्वपूर्ण हो ।’ अर्को एकजना राजेशकाजी नै नाम गरेका साँच्चिकै डक्टर रहेछन् । त्यो थाहा पाएपछि डा. फत्तको हौसलाले पनि काम गरेन । उनले नामको पछाडी डाक्टर लेख्न छाडे ।
नामको पछाडी डाक्टर लेख्न छाडेपछि फेरि भारतीयहरुसंग भेट भो ‘यु सुड राइट डक्टर, ह्वाई यु डन्ट राइट डक्टर ?’ भनेर सोधे । कहिले लेख्ने कहिले नलेख्ने गर्न थाले । साथीहरु उसै गरि जिस्क्याउथे ‘ओ डक्टरसाब ।’




















