‘खाना मिठो भएर के गर्नु ग्राहक आउँदैनन्’

वि.सं.२०८० कात्तिक ११ शनिवार १३:२२
shares

काठमाडौं, ११ कात्तिक । काठमाडौंबाट जाँदा नौबिसे पुगेपछि दुइटा बाटो छुटिन्छ । एउटा बाटो धार्के, महादेवबेसी हुँदै अगाडी बढ्छ । अर्को बाटो पालुङ तिर लाग्छ । पुरानो सात घुम्तीको बाटो पनि भन्छन् ।
सात घुम्टिको फेदीमै छ ‘सचित फाष्ट फुड क्याफे’ । जहाँ अग्र्यानिक दुधको चिया देखी सेल रोटी, तरकारी, माछा मासुलगायतका परिकार पाइन्छ । ग्राहक आउने बित्तिकै हँसिलो चेहराका प्रोपराइटर एम जे माइला सोधिहाल्छन् ‘के खाउँ सर ।’
उनको होटलका ग्राहक प्राय साना गाडी र बाइकमा हिँड्नेहरु हुन् । काठमाडौंबाट बाहिरिनेहरु नागढुंगादेखी सुरु भएको जाममा विथोलिँदै नौबिसेको पुल कटेपछि एमजे को होटलमा रोकिन्छन् अगाडीको धारामा मुख धुन्छन्, धुलो पखाल्छन् र चिया नास्ता खाएर बाटो लाग्छन् । काठमाडौं आउँदै गरेकाहरुका लागि पनि जाम पर्नु अगाडी लगभग अन्तिम गन्तब्य बन्छ उनको होटल । एकछिन थकाई मार्दै नास्ता गर्छन् ।
उनको एउटा पुस्ताले नौबिसेमै बितायो । उनका बाले बिं सं २०३३ सालमा नौबिसेको पुल वारी होटल सुरु गरेका थिए । चिया नास्ताका अतिरिक्त मासु भात खुवाउथे । बाले सुरु गर्दाको रेट अझै बिर्सेका छैनन् ‘मेरा बाले यही नेर होटल सुरु गर्दा सुका कप चिया बेच्नु भयो । एक रुपैयाँ पचास पैसामा भात खुवाउनु हुन्थ्यो ।’ नौबिसे पुलवारीको ठाउँ देखाउदै भने ।
दशैं, तिहार, बिहेको लगनमा उनको होटलमा भ्याई नभ्याई हुन्थ्यो । बिहान चार बजेर उठेर चिया नास्ता बेच्ने एमजे बेलुका नौ बजेसम्म ब्यस्त हुन्थे । कोरोना कालमा व्यापार कमजोर भयो । ‘अब यत्तिकै हो कि क्या हो’ भनेर बसेका थिए । कोरोना सकिएको वर्ष बहार आयो । ‘कोरोना सकिएको वर्ष १६ लाख बढीको ब्यापार भएको थियो ।’ सोचेको भन्दा निकै राम्रो व्यापार भएको कुरा गरे ।
उनलाई लाग्यो अब फेरि व्यापारमा बहार आयो । तर, उनको खुसी धेरै दिन टिकेन । पछिल्लो केही महिना यता व्यापार असाध्यै कमजोर भएको महशुस् गरेका माइला अब के गर्ने भन्नेमा छन् । यहि वर्ष तीज आयो, दशैं आयो, तिहार, छठ आउँदैछ । तर, उनको दोकानमा ग्राहक आएनन् । खानाको गुणस्तर पहिला जस्तै छ क्वालिटीयुक्त । खाने मान्छे सबले ‘मिठो छ’ भन्छन् तर, खाने मान्छे नै आउँदैनन् ।
‘यो समयमा त हामी आधा रात मात्रै सुत्थ्यौं।’ दशैं आउनु अघि र दशैं सकिएपछि आफ्नो होटलमा ग्राहकको भिड लागेको कुरा गर्दै भने ‘अहिले त सामान्य बेला जस्तै छ । एकाध मान्छे मात्रै आउँछन् ।’ अहिले उनको दोकानको मात्रै हैन, सिंगै नौबिसे बजारमा सुख्खा लागेको छ । ‘मेरो मात्रै हैन । सबैको ब्यापारको हालत उस्तै कमजोर छ ।’ आर्थिक मन्दीको प्रभाव व्यापारमा परेको कुरा गरे । खर्च कटाएर केही बचत समेत गर्दै आएका महाइलालाई अहिले घर भाडा तिर्नै धौ धौ छ ।