अक्टोबर महिनामा मात्रै १ लाख १७ हजार पर्यटक भित्रिए
वि.सं.२०८० कात्तिक १५ बुधवार १५:५२
shares
काठमाडौं, १५ कात्तिक । नेपालमा अक्टोबर महिनामा मात्रै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् । पर्यटक आवागमन कोभिडपछि सबै भन्दा धेरै हो । यो संख्या सन २०१९ को अक्टोबरमा भन्दा पनि बढी हो ।
अध्यागमन विभागका अनुसार अक्टोबरमा १ लाख १७ हजार पर्यटक भित्रिएका छन् । गत वर्ष ५२ हजार १२१ पर्यटक मात्रै भित्रिएका थिए ।
पर्यटन बोर्डका प्रवक्ता मनिराज लमिछानेले अक्टोबरमा सबै भन्दा धेरै पर्यटक भित्रिएको जानकारी दिए । कोभिडअघि २०१९ मा १ लाख १० हजार पर्यटक नेपाल आएका थिए ।
बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गृष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१९, चीनबाट ६ हजार ८८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१ र बंगलादेशबाट ४ हजार २९२ पर्यटक नेपाल भित्रिएका छन् ।