Nepal Life Banner

लघुवित्तको ग्रामीण मोडेल : भ्रम र यथार्थ

4.38K
shares
अहिले लघुवित्त क्षेत्रमा लघुवित्तको ग्रामीण मोडेल असफल भएको र यसलाई परिवर्तन गरी अन्य कुनै मोडेल (रुप वा सार केही थाहा नभएको ?) मा जानुपर्छ भन्ने आवाज दिनहुँ जसो पत्रपत्रिकाहरुमा पढ्न पाइने र यस क्षेत्रमा लागेका अग्रजहरुको समेत यस्तै खाले धारणा आइरहेको परिप्रेक्ष्यमा केही लेख्ने जमर्को गरेको छु ।
के हो त ग्रामीण मोडेल ?
सबैलाई थाहा भएको ग्रामीण मोडेलको प्रादुर्भाव तर्फ नलागी सिधै यसका आधारभूत मान्यता या सिद्धान्त तर्फ लागौं –ग्रामीण मोडेल मूलत पाँचवटा आधारभूत मान्यताको जगमा अडिएको छ –सानो आकारको कर्जा, छोटो छोटो किस्ता अवधि, नियमित बचत संकलन, कर्जा को सदुपयोगिता र घरदैलो सेवा यसका आधारभूत मान्यता हुन् ।
यसका साथै ग्रामीण मोडेल संचालन (Operation) का लागी केही अनिवार्य सर्तहरुको समेत व्यवस्था गरिएको छ ।आर. आर. ए., पि. आर. ए. वा पि. डब्लु. आर. विधिको प्रयोग गरी लक्षित क्षेत्र, वर्गको पहिचान गर्ने, भिलेज प्रोफाइल तयार पार्ने, समूह प्रवेश पूर्व तालिम संचालन गर्ने, समूह गठन, पदाधिकारी चयन, तिनको कार्य विवरण, समूह मान्यता, केन्द्र बैठक संचालन, कर्जा माग, कर्जा वितरण, (२:२:१) को व्यवस्था, कर्जाको विश्लेषण, सदुपयोगिता, केन्द्र मूल्यांकन, केन्द्र प्रमुख गोष्ठी, जनलेखा परिक्षण, सीप प्रर्वद्धन, तालिम, विशिष्ट सदस्यको पहिचान लगायतका व्यवस्थाहरु यस भित्र पर्दछन् । यसका साथै आन्तरिक नियन्त्रण प्रणली, कर्मचारीको छनौट, तालिम र पदस्थापनाका कुराहरु समेत समावेश छन् ।
ग्रामीण मोडेलले लघुवित्त वित्तीय संस्थाका लागी केही सूचकहरुको मानक समेत स्थापित गरेको छ । जसमा Productivity Ratio, Portfolio Quality Ratio र Financial Ratio हरुको प्रयोग गरिएको छ । यो सँगै उत्पादनलाई बजार सम्म जोड्ने र ग्राहक सदस्यहरुको जीवनस्तर सुधार गर्न सहयोग गर्ने कार्य पनि ग्रामीण मोडेलको अभिन्न अंग रहेको छ । यी सबै व्यवस्थालाई हेर्दा ग्रामीण मोडेलले समग्र इकोसिस्टमको परिकल्पना गरेको देखिन्छ ।
समूह जमानी होस् वा व्यक्तिगत जमानी कर्जा दिने प्रकृया ग्रामीण मोडेलको एक सानो हिस्सा मात्रै रहेको कुरालाई बढाइचढाई गरी सामूहिक जमानी छाडेर व्यक्तिगत जमानीमा जाँदा मोडेल नै परिवर्तन हुने र सबै समस्या तत्काल समाधान हुने हाम्रो बुझाइले समस्याको समाधान नगरी लघुवित्त क्षेत्रलाई दलदलमा पुर्याउँछ भन्ने मेरो व्यक्तिगत विचार रहेको छ ।
बंगलादेशमा सन् १९९८ मा आएको बाढीका कारण भएको क्षतिलाई कम गर्न Disaster Recovery योजना बमोजिम सुधारिएको ग्रामीण मोडेल (G2 Model) को अभ्यास गरिएको थियो र यो मोडेल परिमार्जन हुँदै आजका दिनसम्म पनि यथावत चलिरहेको छ । हामीले अहिले देखिएको असहज अवस्थालाई सुधार गर्न (G2 Model) को अभ्यासलाई अनुकरण गर्न सकिने ठाउँ रहेको छ र हामी त्यो बाटोमा जानै पर्छ ।
अरुले गरेको राम्रो अभ्यासलाई अनुकरण गर्न नसक्ने, भएको व्यवस्थाको पूर्ण पालना नगर्ने, हाम्रो आफ्नो विशिष्ट अवस्था, अभ्यासलाई मध्यनजर गर्दै कुनै नयाँ मोडेलको प्रादुर्भाव वा अभ्यास गर्न नसक्ने तर मोडेल ले काम गरेन भन्दै आफ्नो असक्षमता लुकाउँदै हिड्ने र सामूहिक जमानी छाडेर व्यक्तिगत जमानीमा जाँदा सबै समाधान हुन्छ भन्ने सोच ले समस्याको समाधान गर्दैन ।
अहिले हामी आफै तर्फ फर्किनुपर्ने अवस्था आएको छ । कुनै पनि व्यवस्था वा मोडेल आफैमा खराब हुँदैन । सुधार गर्नुपर्ने ठाउँ भने अवश्य रहन्छ । ग्रामीण मोडेलमा सुधार गर्नुपर्ने व्यवस्थाहरु अवस्य छन् । सुधार गर्नुपर्ने विषयहरुलाई सुधार गर्दै, सुधारिएको ग्रामीण मोडेलको अभ्यास र अनुकरणले लघुवित्त क्षेत्रको प्रर्वद्धन र संरक्षणमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने विषयमा छलफल वा बहस हुनु अत्यावश्यक देखिएको छ ।