GBIME

त्रियुगाको बाढीले सप्तरीमा सुकुमवासी टोल डुबानमा

666
shares

काठमाडौं, २५ असार । त्रियुगा खोलाको बाढी बस्तीमा पसेपछि सप्तरीको सप्तकोशी नगरपालिका– २ स्थित सुकुमवासी टोल डुबानमा परेको छ।

मंगलबार बिहान १० बजे त्रियुगा खोलाले पूर्वी तटबन्ध कटान गरी बाढी सुकुमवासी बस्ती पसेको हो। सप्तकोशी नगरपालिका– २ का वडाध्यक्ष जाहिर हुसैनका अनुसार बाढीले सुकुमवासी टोलका ६८ घर डुबानमा परेको हो।

बाढी पसेर पूरै गाउँ जलमग्न भएपछि उद्धार कार्यमा समस्या उत्पन्न भएको वडाध्यक्ष हुसैनले बताए। बस्तीका घरघरमा पानी पसेपछि प्रहरीले सप्तकोशी नगरपालिका– २ का १६ परिवारका सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उद्धार गरिएका बाढीपीडितहरूलाई स्थानीय मस्जिदमा राखिएको तथा क्षतिको विवरण संकलन भइरहेको न्यौपानेले जानकारी दिए।