उच्च अदालतको आदेशसँगै न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

वि.सं.२०८१ साउन २ बुधवार १०:४४
shares

काठमाडौं, २ साउन । काठमाडौं महानगरपालिकाले उच्च अदालत पाटनबाट आदेश आएसँगै न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम सुरु गरेको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी सामान जफत गरिदिएपछि महानगरले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको र सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।