के हो आस्वा प्रणाली ?

वि.सं.२०८१ साउन १७ बिहीवार ०६:००
shares

काठमाडौं, १७ साउन । धितोपत्र (शेयर) को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थाबाट दरखास्त दिन मिल्छ ।
शेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको शेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ ।
दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ । यसरी रोकिएको रकम शेयर परेको खण्डमा काटिन्छ भने शेयर परेन भने फिर्ता हुन्छ ।
शेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण ९ट्रान्सफर० गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् ।
यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको शेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिन्छ ।
नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये धेरै बैंकहरुले आस्वा शुल्क लिने गरेका छन् । जसमा नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक नेपाल लिमिटेडमा बैंक खाता भएका लगानीकर्ताले सी–आस्वा तिर्नुपर्दैन । तर बाँकी २३ बैंकमा खाता भएर आइपीओ आवेदन दिएका लगानीकर्ताले १० रुपैयाँ देखि १०० रुपैयाँसम्म बुझाउनु पर्छ ।