देशभरका सरकारी अस्पतालबाट सजिलै स्वास्थ्य बीमा सेवा लिन सकिने

वि.सं.२०८२ असार २० शुक्रवार १३:०७
shares

काठमाडौं, २० असार । सरकारले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी र सर्वसुलभ बनाउने निर्णय गरेको छ। अब बीमितहरूले देशभरका अनुमति प्राप्त सरकारी अस्पतालहरूबाट स्वास्थ्य बीमा अन्तर्गतको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गर्दै साउन १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था ल्याएको हो। यसअघि बीमितले बीमा गर्दा चयन गरेको एउटै अस्पताल (प्रथम सेवा बिन्दु) बाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो, जसले गर्दा अन्य स्थानमा रहँदा सेवा लिन कठिनाइ हुने गुनासोहरू आएका थिए।
नयाँ व्यवस्थाअनुसार अब बीमित जुनसुकै जिल्ला वा सहरमा भए पनि आफू नजिकको सरकारी अस्पतालबाटै बीमा सेवा लिन सक्नेछन्।
स्वास्थ्य बीमा बोर्डको यो निर्णयले सेवा पहुँच, सहजता र गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। बीमितहरूलाई झन्झटमुक्त सेवा दिन सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्दै सुधारका कदम चालेको हो।