Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजनेस मिट २०८२’ सम्पन्न

4.43K
shares

काठमाडौं, २२ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने देशभरका ६७ शाखा कार्यालयहरूको सहभागितामा ‘बिजनेस मिट २०८२ मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ। बैंक सञ्चालक समिति अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ् बजारको आवश्यकता, बैंकले निर्वाह गर्नुपर्ने भूमिका सहित विषयगत छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा बैंकमा रहेको प्रचुर निक्षेपलाई गुणस्तरीय कर्जामा रूपान्तरण गर्ने उपायबारे प्रत्येक शाखाले सम्भावित ग्राहक अवस्था तथा आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष प्राथमिकता दिनुपर्ने, क्षेत्रगत सम्भावनालाई पहिचान गरी प्रभावकारी योजना बनाउनुपर्ने तथा सरकारी बैंकप्रति जनदृष्टिकोणलाई झनै सकारात्मक बनाउन उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको निर्देशन दिए । सञ्चालक समिति सदस्य हरि कुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जाशील रहेको उल्लेख गर्दै यस ऊर्जालाई व्यवसाय विस्तारतर्फ मोड्न शाखाहरूलाई सुझाव दिए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा रहेको निक्षेपलाई अवसरको रूपमा सदुपयोग गर्दै गुणस्तरीय कर्जा विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। उनले शाखा प्रमुखहरूलाई कर्जा विस्तार लक्ष्यअनुसार अघि बढ्न, सेवाग्राहीप्रति सकारात्मक व्यवहार कायम गर्न तथा गुनासोरहित सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिए। साथै, शाखादेखि केन्द्रीय कार्यालयसम्मका कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिमलाई बैंकले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे।

कार्यक्रममा उप कार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने औपचारिक सत्र सञ्चालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए। नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य राखे कार्यक्रममा उप–कार्यकारी अधिकृतहरू विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, राम कुमार थापा, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरू लगायतको उपस्थिति रहेको थियो।