अधिवक्ता भगवती पाण्डेलाई बचाउन गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आरोप (भिडियो सहित)

11.17K
shares

काठमाडौं, २२ साउन । विवादास्पद अभिव्यक्ति दिएर विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डे९शीतल० बचाउमा गृहमन्त्री नारायण काजी श्रेष्ठको संलग्नता रहेको आन्दोलनकर्मीहरुले बताएका छन् । सोमबार आयोजित वृहत् विरोधर्‍यालीमा आन्दोलन गर्दै केही प्रदर्शनकर्मीहरुले पाण्डेको बचाउमा गृहमन्त्रीकै संलग्नता भएको दाबी गरेका हुन् ।

प्रहरी दमनको विरोध गर्दै प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्कीलाई आन्दोलनकर्मीहरुले निलम्बनको माग समेत गरेका छन् । अधिवक्ता पाण्डेलाई प्रहरीले संरक्षण गरेर राखेको र त्यसमा गृहमन्त्री श्रेष्ठको पनि संलग्नता रहेको उनीहरुको आरोप छ ।

अधिवक्ता पाण्डेलाई कारबाही गर्न दबाब दिन जाँदा पक्राउ परेर हिरासतमा बसेका पर्शुराम तामाङले प्रहरी प्रमुख दान बहादुर कार्कीलाई लैङिक हिंसाको मुद्दा चलाउनु पर्ने बताए । उनले भने, ‘प्रहरी प्रमुख दान बहादुर कार्कीको आदेशमा हाम्रो महिला आन्दोलनकर्मी साथीहरूलाई पुरुष प्रहरीले निर्मम रूपमा हातपात गर्दै, लछारपछार गर्दै कुटेका छन् । त्यसैले उहाँलाई लैङिक हिंसाको मुद्दा चलाउनुपर्छ ।’
साथै उनले प्रहरी प्रमुख कार्की असक्षम प्रहरी भएको दाबी समेत गरेका छन् ।

यसै प्रसङ्गमा बोल्दै शर्मिला वाइबा भन्छिन्, ‘अधिवक्ता पाण्डेलाई मैले माफी माग्नुस् भनेर कति भने तर उहाँले मान्नुभएन, अहिले फेसबुकमा घुमाउरो  पाराले स्ट्याटस राख्नुभएको छ मेरो विचारमा त्यो उहाँले माफी माग्न नै खोज्नुभएको होला ।’
विरोधर्‍यालीमा सहभागी हुँदै उनले अधिवक्ता पाण्डेले विवादित अभिव्यक्ति दिएको कारण आदिवासी, जनजाति समुदाय एक भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

दिउँसोको एक बजे माइतीघर मण्डलाबाट सुरु गरिएको उक्त विरोध कार्यक्रम नयाँ बानेश्वरको होटेल एभरेस्ट अगाडी पुगेर रोकिएको थियो । प्रहरी प्रमुख दान बहादुर कार्कीलाई निलम्बन गर्नुपर्ने, टेकु परिसरमा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, अधिवक्ता पाण्डेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने लगायतका मागहरू रहेको आन्दोलनकर्मीहरुले बताएका छन् ।

आन्दोलनको अवस्था किन सिर्जना भयो ?

अधिवक्ता पाण्डेले एक टेलिभिजनमा अन्तरवार्ता दिँदै, ‘तामाङ, मगर लगायतका समुदायमा दाजु बहिनी बिच विवाह हुन्छ, र त्यस्ता सम्बन्धबाट जन्मिएका बच्चाहरू आपराधिक मानसिकता भएका हुन्छन् ।’ भनेकी थिइन । सोही अभिव्यक्तिलाई लिएर आदिवासी जनजातिहरूले विभिन्न सङ्घसंस्थाबाट आपत्तिजनक विज्ञप्ति निकाल्दै उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए ।

सोही अभिव्यक्तिलाई कारण बनाउँदै आदिवासी जनजाति समुदायले उनी विरुद्ध उजुरी दिएका थिए । तर प्रहरीले पाण्डेलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रहरीलाई शान्तिपूर्ण दबाब दिन आफूहरू टेकु प्रहरी परिसर जाँदा आफूहरूमाथि निर्मम कुटपिट भएको पर्शुराम तामाङ बताउँछन् । उनी भन्छन्, ‘हामी अधिवक्ता पाण्डेलाई पक्राउ गरी कारबाही गर्न शान्तिपूर्ण आन्दोलन गर्दै प्रहरी परिसर टेकु गएका थियौँ तर हामीलाई प्रहरीले लछार, पछार र निर्मम यातना दिँदै हिरासतमा राखे ।’

साउन १७ गते आदिवासी जनजातिहरू आन्दोलित हुँदै प्रहरी परिसर टेकु पुगेका थिए । सोही दिन आन्दोलनको क्रममा प्रहरी परिसर टेकु एक युद्धभूमी जस्तै बनेको थियो । जहाँ आन्दोलनकर्मीहरूलाई प्रहरीले कुट्दै, पछार्दै भित्र लगेको भिडियो दृश्य देख्न सकिन्छ ।

भित्र लगेपछि आफूहरूलाई निकै निर्मम र क्रूरतापूर्ण तरिकाले यातना दिएको हिरासतमा बस्ने आन्दोलनकर्मीहरुले बताए । प्रहरीको यातनाबाट पीडित कतिपय आन्दोलनकर्मीहरू अस्पताल भर्ना समेत भएका छन् । पत्रकारलाई रिपोर्टिङ गर्न समेत नदिइएको अवस्था थियो । त्यस कारण सबै सञ्चारकर्मीहरूले आफ्नो क्यामराहरू भुँइमा राखिएको दृश्यपनि भिडियोमा देख्न सकिन्छ ।

विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई पक्राउ गर्न दबाब दिन आदिवासी जनजाति समुदाय प्रहरी परिसर टेकु पुगेर आन्दोलन गर्दा प्रहरीबाट भएको क्रूर दमनको कारण आन्दोलनको अवस्था सिर्जना भएको आन्दोलनकर्मीहरूको भनाई छ ।