आशीर्वादको पीडा
वि.सं.२०८२ पुस १८ शुक्रवार १२:१४
shares

काठमाडौं, १८ पुस । मैले हालै एउटा तालिम कक्षामा प्रत्यक्ष अनुभव गर्ने अवसर पाएँ । तालिम सहजीकरणका लागि तोकिएको समयभन्दा केही अगाडि पुगेको म, सहभागीका रूपमा केही बेर छेउमै बसेर अर्को सरको कक्षा सुन्ने अबसर पाए जहाँ शब्दहरू भन्दा बढी मनोभावले बोलिरहेको थियो । सहभागी हरूका प्रश्नहरू जिज्ञासा भन्दा आत्मरक्षामा केन्द्रित थिए— कसैले भने मैले त मेरो तर्फबाट सबै गरिसकेको छु त कसैले भने यही तरिकाले त वर्षौंदेखि काम हुँदै आएको छ । ती आवाजहरूमा एउटै भाव थियो— म नै ठीक छु । फरक दृष्टिकोण सुन्ने धैर्यभन्दा आफूलाई सही सावित गर्ने हतार हावी थियो, जसले मलाई गहिरो सोचमा डुबायो । जबसम्म हामी आफूलाई कहिल्यै गलत मान्न तयार हुँदैनौँ, तबसम्म सुधार सम्भव हुँदैन । तालिम, नेतृत्व वा जीवन— जुनसुकै यात्रामा पनि साँचो सिकाइ त्यहीँबाट सुरु हुन्छ, जहाँ “म ठीक छु” भन्ने अहंकार गल्दै “म सिक्दै छु” भन्ने विनम्रता जन्मिन्छ ।
त्यो आवाज केवल विवादको होइन, हाम्रो सामूहिक मानसिकताको प्रतिविम्ब थियो, जहाँ आत्मालोचना भन्दा दोषारोपण सजिलो ठानिन्छ त्यसको केही समयपछि मेरो कक्षाको समय सुरु हुन्छ र मैले सहभागीहरूलाई शुरुमै विषय बस्तुमा प्रबेश अगाडि एउटा साधारण प्रश्न सोधेँ । हामी सबैका छोराछोरी वा भाइबहिनीहरू छन्, होइन ? सबैले सहमतिमा टाउको हल्लाए । त्यसपछि मैले अर्को प्रश्न राखे टीका लगाउँदा म जस्तै भएस भनेर आफना भाई बहिनीलाई आशीर्वाद कति जनाले दिन सक्नु हुन्छ ?
त्यस क्षण कक्षा एकाएक मौन भयो न कोही बोले, न कसैले आँखा जुधाउन सके त्यो मौनतामा लाज र आत्मस्वीकारको संकेत थियो । त्यो मौनताले एउटा कठोर सत्य उजागर पनि ग¥यो । हामी बाहिरबाट आफूलाई असल, जिम्मेवार र सफल देखाउन खोज्छौँ तर भित्र भित्रै हामी जान्दछौँ—हामी आफैँ आफ्नो जीवनसँग पूर्ण सन्तुष्ट छैनौँ । हामीले धेरै सम्झौता गरेका छौँ, धेरै चाहनाहरू दबाएका छौँ र धेरै अवसर गुमाएका छौ । त्यसैले जब आफ्नै सन्तानको भविष्यको कुरा आउँछ, उनीहरूलाई आफूजस्तै बन्न चाहँदैनौँ ।
हामी प्रायः आफ्ना कमजोरी स्वीकार्न डराउँछौ । गल्ती मान्नु भनेको हार जस्तो लाग्छ । त्यसैले परिस्थिति खराब थियो, अरूले साथ दिएनन् भनेर दोष बाहिर थोपार्छौँ । यसले केही समय आत्मसन्तुष्टि दिन्छ, तर आत्मसुधारको ढोका बन्द गरिदिन्छ तर सन्तानका सपना अगाडि राख्दा ती बहानाहरू टिक्दैनन् । हामी उनीहरूलाई आफूभन्दा राम्रो, सक्षम र सफल देख्न चाहन्छौँ, किनकि हामी आफैँ त्यो बन्न सकेनौँ ।
तर सन्तान हाम्रा अधुरा सपना पूरा गर्ने माध्यम मात्र होइनन् । उनीहरू हाम्रो जीवनको ऐना हुन । हामी कस्तो बोल्छौँ, कसरी व्यवहार गर्छौँ, असफलतासँग कसरी जुध्छौँ—यी सबै कुरा उनीहरूले ध्यानपूर्वक हेर्छन् र सिक्छन् । उपदेशले होइन, उदाहरणले उनीहरूको चरित्र निर्माण हुन्छ ।
यहीँ हाम्रो जीवनको ठूलो विरोधाभास देखिन्छ । हामी आदर्शका कुरा गर्छौँ, तर अभ्यास गर्दैनौँ, हामी नैतिकताको पाठ पढाउँछौँ, तर आफ्नो जीवनमा त्यसलाई लागू गर्दैनौँ भित्र सोच एकथरी हुन्छ, बाहिर व्यवहार अर्कै । यही विसङ्गतिले हाम्रो आत्मविश्वास कमजोर बनाउँछ ।
आफैँलाई आशीर्वाद दिन नसक्ने मानिसको सन्तान कसरी साँचो अर्थमा आशीर्वादित हुन्छ ? यो प्रश्न केवल भावनात्मक होइन, जिम्मेवारीको पनि हो । यदि हामी आफ्ना सन्तानलाई उज्यालो भविष्य दिन चाहन्छौँ भने, पहिले आफ्नो वर्तमान उज्यालो बनाउनुपर्छ । परिवर्तनको सुरुवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ ।
सन्तानलाई आफूभन्दा राम्रो देख्न चाहनु स्वाभाविक हो तर त्यो सपना तब मात्र सम्भव हुन्छ, जब हामी आफैँ सुधारको यात्रामा लाग्छौँ । आफ्ना गल्ती स्वीकार्ने साहस, परिवर्तन गर्ने इच्छाशक्ति, र उदाहरण बन्ने प्रतिबद्धता—यिनै कुरा सन्तानका लागि सबैभन्दा ठूलो आशीर्वाद हुन् ।
अन्ततः सन्देश स्पष्ट छ— आफूलाई बदल्न नसक्नेले अरूलाई बदल्न सक्दैन । जब हामी आफूजस्तै हुन आफ्ना सन्तानलाई निसंकोच आशीर्वाद दिन सक्ने अवस्थामा पुग्छौँ, तब मात्र हाम्रो जीवन, हाम्रो अभिभावकत्व र हाम्रो सन्ततिले साँचो अर्थ पाउँछ ।















