युवा मतदाता भन्छन् : निः शुल्क शिक्षा र रोजगारीको अवसर हुुनुुपर्छ

वि.सं.२०७९ वैशाख १४ बुधवार १५:२२
shares

काठमाडौँ, १४ वैशाख । राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरुले भने उम्मेदवारसँग उनीहरुको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क हुनुपर्ने र रोजगारी अवसरमा उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् ।
गाउँपालिका वा नगरका पदाधिकारीका उम्मेदवारहरुले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ । दलहरुका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन् । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलो पटक मतदान गर्न लागेका युवाहरु अपेक्षित उत्साह नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत भएको पाइएको छ ।
काठमाडौँ उपत्यकाका पालिकामा मतदान गर्न लागेको युवा मतदाता र उपत्यकाबाहिर पनि निर्वाचनका लागि जान लागेकासँग कुरा गर्दा उनीहरुमा उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए । पहिलो पटक मतदानमा सहभागी हुन लागेका कतिपय युवा जोसुकै जिते पनि फरक पर्दैन भन्ने भए पनि आफूले सोचेर र बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै छन् । पाका उमेरका मानिसले विगतमा के के काम ग¥यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाहरुले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका विजय ढकाल पहिलो पटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा प्रस्ट छन् । उम्मेदवारमध्ये पनि युवा व्यक्ति र कुनै न कुनै क्षेत्रमा ज्ञान हासिल गरेको र केही गर्छु भन्ने योजना भएको व्यक्ति छान्ने उनको भनाइ छ । प्राविधिक शिक्षाको विकास गर्ने सबैले भने पनि ठोस रुपमा हुन नसकेकाले अब विजयी भएर आउने व्यक्तिले प्राविधिक शिक्षाको विकासका लागि लगानी बढाउनुपर्नेमा उनको जोड छ । उनले भने“नगरपालिका आफैँले लगानी गरेर कलेज खोल्नुपर्छ र रोजगारीका अवसर पनि बढाउनुपर्छ ।”
आफूले परिवारको दबाबमा नभएर आफ्नो इच्छाअनुसार नै मतदान गर्ने ढकालले बताए ।
युवाहरुले पारिवारिक पार्टीभन्दा पनि को ठीक छ र कसले काम गर्नसक्छ भन्ने हेरेर मतदान गर्नुपर्नेमा उनको भनाइ छ । हजुरबुबाहजुरआमा जुन पार्टी बुबाआमा एउटै पार्टी र आफू पनि त्यही पार्टीमा भोट हाल्नुपर्छ भनेर परिवारले दबाब दिने प्रवृत्ति गलत भएको औँल्याए । उनले भने “म सधैँ व्यक्ति हेरेर भोट हाल्छु । यो पटक एउटा पार्टीलाई दिए पनि अर्काे पटक अर्काेलाई दिनेछु ।”
सल्यान बाघचौर नगरपालिकाकी समृद्धि खनाल पनि उत्साहका साथ पहिलो पटक मतदान गर्न घर जाँदै हुनुहुन्छ । अहिले स्नात्तकोत्तर (एमबिए) अध्ययनरत उहाँ जुनसुकै दल वा व्यक्ति निर्वाचनमा विजयी भए पनि शिक्षाको विकासको ध्यान दिनुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्र सेवा भए पनि अहिले व्यवसाय भइसकेकाले नियम बनाएर जनप्रतिनिधिले सुधार्न सक्ने खनालले बताउनुभयो । निजी कलेजहरु त्यसमा पनि प्राविधिक विषयमा अध्ययन गर्न महङ्गो भएकाले नगरपालिकाले नै लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । आफू पनि बाध्यताले स्नाकोत्तर गरेपछि विदेश जाने सोचेको उनको भनाइ छ उनले भने, “दुःख गरेपछि त्यहीअनुसारको अपेक्षा हुन्छ तर पाइँदैन ।”