‘अर्थतन्त्र सुस्त हुँदा पनि फाइनान्स कम्पनीमा सुधार हुँदै गएको छ’
वि.सं.२०८२ चैत २७ शुक्रवार १७:००
shares

काठमाडौं, १६ माघ । नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उद्धवराज थपलियाले दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश फाइनान्स कम्पनीहरूको अवस्था अघिल्लो समयको तुलनामा सुधार हुँदै गएको बताएका छन्। यद्यपि केही कम्पनीमा अझै पनि कर्जा रिकभरीको दबाब कायमै रहेको उनको भनाइ छ। केटिएम भ्वाइसले सुरु गरेको ‘फाइनान्स कनेक्ट’ सिरिजमा कुरा गर्दै अध्यक्ष थपलियाले यस्तो बताएका हुन् ।
हाल सार्वजनिक भएका वित्तीय तथ्यांकले फाइनान्स कम्पनीहरू क्रमशः स्थिरतातर्फ अघि बढिरहेको संकेत गरे पनि सबै संस्थाको अवस्था समान नरहेको उनले स्पष्ट पारे। “कुल तथ्यांक हेर्दा सुधार देखिन्छ, तर केही फाइनान्स कम्पनीहरू अझै पनि कर्जाको रिकभरीमा तनावपूर्ण अवस्थामा छन्,” उनले भने।
बैंकिङ क्षेत्रमा ऋणीबाट कर्मचारीमाथि कुटपिट र दुर्व्यवहारका घटना बढिरहेको सन्दर्भमा फाइनान्स कम्पनीहरू पनि पूर्ण रूपमा सुरक्षित नरहेको उनले स्वीकारे। उनका अनुसार दुई–तीन स्थानमा कर्मचारीलाई धम्की दिइएको घटना रिपोर्टिङमा आएका छन्।
“रिकभरीका क्रममा कर्मचारीलाई गालीगलौज गर्ने, धम्की दिने जस्ता घटना सुनिएका छन्,” उनले भने, “तर बैंकहरूमा जस्तो गम्भीर हातपातको अवस्था भने फाइनान्स कम्पनीमा देखिएको छैन।” विशेषगरी तराई क्षेत्रमा यस्ता घटना बढी देखिएको र काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा भने कम रहेको उनले जानकारी दिए।
आफ्नै संस्थाको अवस्थाबारे बोल्दै सीईओ थपलियाले नेपाल फाइनान्स अझै पनि पूर्ण रूपमा सहज अवस्थामा नपुगेको बताए। समस्याग्रस्त अवस्थाबाट कम्पनीलाई सुधारको दिशामा ल्याइए पनि अघिल्लो समयका बिग्रेका कर्जाहरू ठूलो चुनौती बनेको उनले उल्लेख गरे।
“बिग्रेका कर्जाको रिकभरीमा हामी केन्द्रित छौं, तर त्यसमा कानूनी जटिलता र झमेलाहरू छन्,” उनले भने। नयाँ लगानी अपेक्षित रूपमा हुन नसक्दा कम्पनीको वित्तीय व्यवस्थापन थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
हाल बैंक तथा वित्तीय संस्थामा ऋण लगानी नबढ्नुको मुख्य कारण समग्र अर्थतन्त्र नै चलायमान नभएको थपलियाले बताए। व्यापार–व्यवसायहरू दबाबमा रहेको, घरजग्गा क्षेत्र चलायमान नहुनु र शेयर बजारमा लामो समयसम्म मुभमेन्ट नदेखिनुले कर्जा माग घटेको उनले विश्लेषण गरे।
त्यसैगरी, ठूलो संख्यामा युवाजनशक्ति विदेश पलायन हुनु पनि ऋण लगानी नबढ्नुको प्रमुख कारण रहेको उनको भनाइ छ। “उपभोग गर्ने जनसंख्या घट्दै जाँदा उद्योग–धन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, त्यसैले कर्जाको माग पनि सिर्जना हुन सकेको छैन,” उनले भने।
कोभिडपछि नेपाल राष्ट्र बैंकले ल्याएका कडा नियामकीय व्यवस्था, विशेषगरी उपभोग्य कर्जामा कर चुक्ता अनिवार्य गर्ने नीतिले पनि ऋण प्रवाहमा असर पारेको उनले बताए। यद्यपि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भने नरहेको उनको भनाइ छ।
“डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीहरूको तरलता अनुपात २२–२३ प्रतिशतमा झरिसकेको छ,” उनले भने, “अर्थतन्त्रमा अलिकति पनि मुभमेन्ट आयो भने कर्जा लगानी तत्काल बढ्न सक्छ।”
सरकारले युवाजनशक्ति नेपालमै रोक्ने खालका व्यवसायलाई केही समय सहजीकरण गरेमा अर्थतन्त्र चलायमान भई कर्जा लगानी बढ्ने सम्भावना रहेको उनको निष्कर्ष छ।
सम्पादकीय नोटः फाइनान्स कम्पनीबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘फाइनान्स कनेक्ट’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै फाइनान्स कम्पनीका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने फाइनान्स कम्पनी क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।















