कडा सुरक्षा घेराबीच सिनर्जी पावरको साधारण सभा: शेयरधनी प्रवेश नपाएपछि विवाद
वि.सं.२०८२ माघ १९ सोमवार १३:३८
shares

काठमाडौं, १९ माघ । करिब २०० जना बाउन्सर र कडा प्रहरी सुरक्षाको व्यवस्थाबीच सोमबार बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा विवादित बनेको छ। शेयरधनीलाई नै प्रवेश निषेध गरिएको भन्दै लगानीकर्ताहरूले कम्पनीको सुशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
बिहान १० बजे सुरु हुने भनिएको साधारण सभामा सहभागी हुन आएका धेरै शेयरधनीहरू सभास्थल बाहिरै रोकिएका थिए। भित्र प्रवेश पाउनेहरू सीमित रहँदा सर्वसाधारण शेयरधनी र सञ्चारकर्मीलाई प्रवेश नदिइएको थियो। लगानीकर्ताहरूका अनुसार सभास्थलको सुरक्षा व्यवस्था नाइट क्लब वा भीआईपी इभेन्टजस्तै देखिएको थियो।
“शेयरधनी आफ्नै कम्पनीको साधारण सभामा छिर्न नपाउने तर निजी बाउन्सर र सुरक्षा गार्डको घेराभित्र सभा चल्ने—यो कस्तो सुशासनरु” एक आक्रोशित लगानीकर्ताले प्रतिक्रिया दिए।
लगानीकर्ताहरूका अनुसार प्रोक्सी कागजातमा नक्कली हस्ताक्षर भएको आशंका उठेपछि त्यसैलाई आधार बनाएर धेरै शेयरधनीलाई प्रवेश नदिइएको हो। सञ्चालक पदमा उम्मेदवार बनेका केही शेयरधनीलाई समेत सभामा प्रवेश गर्न नदिइएपछि विवाद थप चर्किएको बताइएको छ।
एक शेयरधनीका अनुसार महँगो मूल्यमा सेयर बेच्ने समूहलाई प्राथमिकता दिइयो भने दीर्घकालीन रूपमा सेयर होल्ड गर्ने लगानीकर्तालाई योजनाबद्ध रूपमा बाहिर राखियो। “यो खुलेआम भेदभाव र शेयरधनी अधिकारको हनन हो,” उनले भने।
लगानीकर्ताहरूले कडा सुरक्षाको आडमा सभा जबरजस्ती अघि बढाइएको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार यसरी सभा सञ्चालन गरिनु कम्पनीभित्र मनपरी निर्णय, शक्ति दुरुपयोग र संस्थागत सुशासन कमजोर भएको संकेत हो। केही लगानीकर्ताले करिब ६ करोड रुपैयाँको आर्थिक चलखेल लुकाउन आफ्नै पक्षका व्यक्तिहरूलाई सञ्चालकमा नियुक्त गरिएको आशंका समेत व्यक्त गरेका छन्।
यसअघि पनि पुस २८ र माघ ८ गते बोलाइएका वार्षिक साधारण सभा विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएका थिए। पटक–पटकको स्थगनपछि सम्पन्न भएको यो सभा अन्ततः तीव्र विवादका बीच टुंगिएको हो।
घटनापछि असन्तुष्ट शेयरधनीहरू कानुनी बाटो अपनाउने तयारीमा जुटेका छन्। उनीहरू भन्छन्, “शेयरधनीलाई धम्क्याएर र ढोका बन्द गरेर सञ्चालन गरिएको साधारण सभा स्वीकार्य छैन। अब अदालत जाने विकल्पबाहेक केही बाँकी छैन।”



















