GBIME

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी जहाज अवतरण हुँदै

1.28K
shares

काठमाडौँ, १५ वैशाख । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स्को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब ४५ मिनेटको उडानपश्चात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । जुन नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भर्न लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने “नेपालको भूमिमध्ये काठमाडौँबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोशेढुङ्गा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए ।”

प्राधिकरणका अनुसार आजदेखि नै तराई क्षेत्रका अन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन् । गौतमबुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने छ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए ।

नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्न लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् ।

Dhulikhel Eco Resort 1200*100